जेनजी आन्दोलनको आवरणमा प्रतिगमन र विध्वंसका प्रयासहरूको विरोध गरौंः महासचिव पोखरेल


काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानलाई सम्मान गर्नुपर्ने र राजनीतिक परिवर्तनमा उनीहरूको भूमिका बुझ्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत पोखरेलले जेनजी आन्दोलनको आवरणमा प्रतिगमन र विध्वंसका प्रयासहरूको विरोध गर्न आवश्यक रहेको बताएका छन् ।
उनले नयाँ पुस्ताको विश्वास जित्न र त्यसको आधारमा पार्टीको गतिविधि अघि बढाउनु पर्नेमा जोड दिएका छन्। जनतासँगको सम्बन्धलाई जीवन्त र घनिष्ठ बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले पार्टीका कार्यकर्ताहरूसँग आन्तरिक एकता र मनोबलको महत्त्वबारे उल्लेख गरे ।
पार्टीको अस्तित्व र भविष्यलाई मजबुत बनाउन जनपक्षीय जीवनशैली र आचरणलाई प्राथमिकता दिनु आवश्यकता रहेको नेता पोखरेलको भनाई छ ।