निर्वाचन आयोगको तयारी तीव्र, करिब ४ करोड मतपत्र छापिने
Prime TV News २ महिना अगाडि 
काठमाडौ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि करिब ४ करोड मतपत्र छाप्ने तयारी अघि बढाएको छ।
आयोगका अनुसार मतपत्र छपाइको काम समयमै सम्पन्न गरी निर्वाचन व्यवस्थापनलाई सहज बनाउने लक्ष्य राखिएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले मतपत्र छापिएपछि फागुन १० गतेभित्र सबै जिल्लामा पठाइसक्ने योजना रहेको जानकारी दिए।
तर मतपत्रको साइज अझै अन्तिम टुंगोमा नपुगेकाले छपाइ खर्च कति पर्छ भन्ने विषयमा हाल यकिन गर्न नसकिने उनले बताए। प्रवक्ता भट्टराईका अनुसार प्रत्यक्षतर्फ प्रयोग हुने मतपत्र निर्वाचन क्षेत्रअनुसार फरक–फरक हुनेछन्।
समानुपातिकतर्फको मतपत्र भने सेतो कागजमा कालो मसी प्रयोग गरेर छापिने निर्णय भइसकेको छ। प्रत्यक्षतर्फको मतपत्रको रङ्ग र ढाँचाबारे निर्णय प्रक्रिया जारी रहेको आयोगले जनाएको छ।निर्वाचन मिति नजिकिँदै जाँदा आयोगले मतपत्र छपाइ, ढुवानी तथा अन्य प्राविधिक तयारीलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।













