आचारसंहिता लागू गर्ने तयारीमा आयोग
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । निर्वाचन आयोगले आगामी निर्वाचनलाई व्यवस्थित र मर्यादित बनाउन निर्वाचन आचारसंहिता लागू गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ।
आयोगले विगतको अभ्यासलाई निरन्तरता दिँदै मतदान मितिभन्दा करिब ५०/५२ दिन अगाडिदेखि आचारसंहिता कार्यान्वयनमा ल्याउने तयारी गरेको जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले आचारसंहिता पारित गरिसकेको जानकारी दिँदै छिट्टै मिति तोकेर लागू गरिने बताए।
उनका अनुसार आचारसंहिता राजनीतिक दल, सरोकारवाला निकाय र विज्ञहरूको सुझाव समेटेर तयार गरिएको हो। आचारसंहितामा सूचना प्रविधिको प्रयोगलाई व्यवस्थित गर्ने प्रावधान राखिएको छ। हरित निर्वाचनको अवधारणा अनुसार डिजिटल तथा भर्चुअल प्रचारप्रसारलाई प्राथमिकता दिने नीति लिइएको आयोगले जनाएको छ।
त्यसैगरी, निर्वाचनमा प्रयोग हुने सामग्रीमा प्लास्टिकको प्रयोग निषेध गरिएको छ। आयोगका अनुसार यस नीति अनुरूप राजनीतिक दल तथा उम्मेदवारहरूले पनि वातावरणमैत्री सामग्री प्रयोग गर्नुपर्नेछ। आचारसंहितामा राजनीतिक दलहरूले मत माग्ने क्रममा घोषणापत्र प्रस्तुत गर्नुपर्ने, साथै निर्वाचनपछि घोषणापत्र कार्यान्वयनको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि समावेश गरिएको छ।
उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको अधिकतम सीमा, तथा सबै खर्च बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने प्रावधान राखेर निर्वाचन प्रक्रियालाई पारदर्शी बनाउने प्रयास गरिएको आयोगले जनाएको छ।












