विशेष महाधिवेशनले कांग्रेस नफुट्ने विश्वप्रकाश शर्माको दाबी

User Image Prime TV News १ हप्ता अगाडि
Image of विशेष महाधिवेशनले कांग्रेस नफुट्ने विश्वप्रकाश शर्माको दाबी

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान हुँदैमा पार्टी नफुट्ने स्पष्ट पारेका छन्।

केन्द्रीय कार्यसम्पादन समिति बैठकअघि पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेस एकढिक्का रहने दाबी गरे। “नेपाली कांग्रेस फुट्दैन, एकताबद्ध नै रहन्छ। पार्टी फुट्छ भन्ने आशंका कसैमा छ भने त्यो आवश्यक छैन,” महामन्त्री शर्माले भने।

उनका अनुसार विधानले तोकेको समयसीमाभित्र नियमित महाधिवेशन हुन नसकेपछि विकल्पका रूपमा विशेष महाधिवेशन आह्वान गरिएको हो। “यो परिस्थितिमा नयाँ नेतृत्वसहित चुनावमा जानुपर्ने अवस्था थियो। तर निर्धारित समयमा महाधिवेशन सम्भव नभएपछि विशेष महाधिवेशनको विकल्प रोजिएको हो,” उनले बताए।

महामन्त्री शर्माले विशेष महाधिवेशन संस्थागत निर्णयमार्फत अघि बढ्नुपर्नेमा जोड दिए। केन्द्रीय समिति र कार्यसम्पादन समितिबाट औपचारिक निर्णय गरेर महाधिवेशन सम्पन्न गर्न आफूहरू इच्छुक रहेको उनले बताए।

नियमित महाधिवेशन हुन नसकेको, विधानअनुसारको समयसीमा नाघिसकेको र नेतृत्व तथा नीतिप्रति पार्टीभित्र असन्तुष्टि बढ्दै गएको सन्दर्भमा कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर ध्रुवीकरण देखिन थालेको छ। यसैबीच, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ देखि २९ गतेसम्म विशेष महाधिवेशन बोलाउने निर्णय गरिसकेका छन्।

यो निर्णयले पार्टीभित्रको आन्तरिक बहसलाई थप तीव्र बनाएको छ।