गोरखा–२ मा एमाले चक्रे मिलनलाई सिफारिस
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले मिलन गुरुङ (चक्रे मिलन)लाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ । क्षेत्रीय कमिटीले शुक्रबार उनको नाम सिफारिस गरेको हो ।
युवा सङ्घ नेपालका केन्द्रीय सदस्य प्रविण अधिकारीका अनुसार गुरुङको उम्मेदवारी स्थानीय युवाको दबाब र चाहनाको परिणाम हो। उनले गोरखामा पछिल्लो समय परम्परागत राजनीतिभन्दा फरक पहिचान र सक्रियता भएका व्यक्तिप्रति युवाको आकर्षण बढ्दै गएको बताए।
“यो उम्मेदवारी कुनै व्यक्तिको मात्रै होइन, गोरखाका युवाको प्रतिनिधित्व हो,” अधिकारीले भने, “राजनीतिमा नयाँ ऊर्जा र आवाज आवश्यक भएको महसुस युवाले गरेका छन्।” देशभर ‘चक्रे मिलन’ नामले परिचित गुरुङ गुण्डा नाइकेको रुपमा परिचित व्यक्ति हुन्।
विगतमा उनीमाथि विभिन्न आरोप लागे पनि ती आरोपले आफूलाई विचलित नगरेको र समाजसेवामै केन्द्रित रहेको उनको भनाइ छ। २०५० सालदेखि नै एमालेमा सक्रिय रहेको बताउने गुरुङले गोरखाली जनताले नयाँ अनुहारलाई अवसर दिने विश्वास व्यक्त गरेका छन्। “समाजका विभिन्न तहमा काम गरेकाले जनताले मलाई बुझेका छन्,” उनले भने।












