कांग्रेस १५औं महाधिवेशनको नयाँ मिति प्रस्ताव, आगामी वैशाख २८ देखि ३१ गते गर्ने प्रस्ताव ( प्रस्तावित कार्यतालिका सहित)

User Image Prime TV News १ हप्ता अगाडि
Image of कांग्रेस १५औं महाधिवेशनको नयाँ मिति प्रस्ताव, आगामी वैशाख २८ देखि ३१ गते गर्ने प्रस्ताव ( प्रस्तावित कार्यतालिका सहित)

काठमाडौ । नेपाली कांग्रेसको १५औं महाधिवेशन आगामी २०८३ वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव गरिएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नयाँ मिति प्रस्ताव गरेका हुन्।

नेता विमलेन्द्र निधिका अनुसार कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशनको औचित्य मंसिर १५ गतेमै समाप्त भइसकेको निष्कर्षसहित नियमित महाधिवेशनको नयाँ तालिका अघि सारेका हुन्। “यसअघि पुस २६ गतेका लागि तय गरिएको १५औं महाधिवेशन प्रभावित भएपछि वैशाख २८–३१ को नयाँ मिति प्रस्ताव गरिएको हो,” निधिले जानकारी दिए।

यसअघि मंसिर १५ गते बसेको केन्द्रीय समितिको बैठकले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर सो निर्णयअनुसार आवश्यक तयारी अघि नबढेपछि उक्त तालिका कार्यान्वयन हुन सकेन, जसका कारण पार्टी नेतृत्व नयाँ मितितर्फ गएको हो।

यद्यपि पार्टीभित्र विशेष महाधिवेशनको विषयमा मतभेद अझै कायम छ। महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागअनुसार पुस महिनाभित्रै विशेष महाधिवेशन गर्नुपर्ने अडान दोहोर्‍याएका छन्।

महामन्त्रीद्वयले संयुक्त वक्तव्य जारी गर्दै नियमित महाधिवेशन स्थगित भइसकेको र अब विशेष महाधिवेशनमा जानु नै एकमात्र विकल्प रहेको बताएका छन्। उनीहरूको उक्त वक्तव्य सार्वजनिक भएपछि कार्यवाहक सभापति खड्काले कार्यसम्पादन समितिको बैठक बोलाएका थिए। बैठकअघि उनले संस्थापन समूहका नेताहरूसँग आन्तरिक छलफलसमेत गरेका थिए।