कार्यसम्पादन समितिले विशेष महाधिवेशनको माग ‘खारेज’

User Image Prime TV News १ हप्ता अगाडि
Image of कार्यसम्पादन समितिले विशेष महाधिवेशनको माग ‘खारेज’

काठमाडौ । नेपाली कांग्रेसको कार्यसम्पादन समितिले विशेष महाधिवेशनको माग गर्दै दर्ता गरिएको पत्रको औचित्य सकिएको ठहर गरेसँगै पार्टीभित्रको आन्तरिक तनाव फेरि सतहमा आएको छ।

शुक्रबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले मंसिर १५ गते नै १५औँ महाधिवेशनको कार्यतालिका तय भइसकेकाले त्यसपछि उठाइएको विशेष महाधिवेशनको माग स्वतः निष्प्रभावी भएको निष्कर्ष निकालेको हो।

बैठकको निर्णयमा भनिएको छ कि पार्टी विधानअनुसार नियमित महाधिवेशनको प्रक्रिया अघि बढिसकेपछि त्यसकै विकल्पका रूपमा विशेष महाधिवेशन माग्नुको कुनै औचित्य नरहेको स्पष्ट भइसकेको छ। त्यसैले मंसिर १५ पछाडि दर्ता भएको हस्ताक्षरसहितको पत्र स्वतः अमान्य हुने ठहर गरिएको हो।

तर यो निर्णय सर्वसम्मत भने रहेन। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फर्मुलाह मनसुर तथा कार्यसम्पादन समिति सदस्य अर्जुन नरसिंह केसी र उमा रेग्मीले निर्णयप्रति फरक मत राखेका छन्। उनीहरूले पार्टीभित्र लोकतान्त्रिक अभ्यास कमजोर पार्ने ढंगले निर्णय लिइएको संकेत गरेका छन्।

कांग्रेसभित्र पछिल्लो समय महाधिवेशनको समय, नेतृत्वको भूमिकालगायत विषयमा असन्तुष्टि बढ्दै गएको छ। बाहिरबाट हेर्दा पार्टी एकताबद्ध देखिए पनि भित्रभित्रै शक्ति सन्तुलन र निर्णय प्रक्रियालाई लिएर गहिरो दरार देखिन थालेको छ।