गगन थापाको घोषणा : पुस मसान्तभित्र विशेष महाधिवेशन, नीति र नेतृत्व परिवर्तनको प्रस्ताव

User Image Prime TV News १ हप्ता अगाडि
Image of गगन थापाको घोषणा : पुस मसान्तभित्र विशेष महाधिवेशन, नीति र नेतृत्व परिवर्तनको प्रस्ताव

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस मसान्तभित्र विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन्।

शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आगामी वैशाख अन्तिम साता १५औँ महाधिवेशन गर्ने कार्यतालिका बहुमतले पारित गरेपछि उनले फरक धारणा सार्वजनिक गरेका हुन्।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले विशेष महाधिवेशनमार्फत पार्टीको नीति र नेतृत्व दुवै परिवर्तन गर्ने प्रस्ताव अघि सार्ने बताए। उनले भने, “पुस मसान्तभित्र धेरै समय छैन। एक–दुई दिन सभापति शेरबहादुर देउवा लगायत नेताहरूसँग छलफल गर्छु। केन्द्रीय कार्यसमितिले निर्णय गरे त्यसैअनुसार जान्छु, नगरे विधानअनुसार म आफैं विशेष महाधिवेशन बोलाउँछु।”

कार्यसम्पादन समितिको बैठकले वैशाख अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरे पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत नेताहरूले त्यसमा फरक मत राखेका छन्।

थापाले आफू निष्क्रिय भएर नबस्ने स्पष्ट गर्दै भने, “म टुलुटुल हेरेर बस्दिनँ। विधानले दिएको अधिकार प्रयोग गर्छु।” उनले देशभरका महाधिवेशन प्रतिनिधिलाई तयारी अवस्थामा रहन आग्रहसमेत गरेका छन्।

विशेष महाधिवेशनको कार्यविधिबारे उनले दुई विकल्प रहेको बताए। केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन बोलाए त्यसले कार्यविधि बनाउने र यदि निर्णय नगरे विशेष महाधिवेशनले नै कार्यविधि तय गर्ने उनको भनाइ छ।

“मेरो धारणा स्पष्ट छ, नीति र नेतृत्व दुवै बदलिनुपर्छ। त्यसबारे निर्णय विशेष महाधिवेशनले गर्छ,” उनले भने। विशेष महाधिवेशनले पार्टी विभाजनतर्फ लैजान्छ कि भन्ने प्रश्नमा थापाले त्यसलाई अस्वीकार गरे। “नेपाली कांग्रेस सजिलो अवस्थामा छैन, तर पार्टी फुट्न दिँदैनौँ,” उनले स्पष्ट पारे।