विशेष महाधिवेशन अपरिहार्य बन्दै गएको गुरुराज घिमिरेको दाबी

User Image Prime TV News १ हप्ता अगाडि
Image of विशेष महाधिवेशन अपरिहार्य बन्दै गएको गुरुराज घिमिरेको दाबी

काठमाडौ । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर विवाद चर्किँदै गएको छ।

यसैबीच कांग्रेस नेता गुरुराज घिमिरेले पार्टी नेतृत्वले कार्यकर्ताको भावना र मागलाई लगातार बेवास्ता गरेकाले अब विशेष महाधिवेशन अपरिहार्य र बाध्यकारी बनेको दाबी गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै घिमिरेले विशेष महाधिवेशनको माग उठाउने पार्टी सदस्यहरूमाथि गरिएको व्यवहारप्रति कडा आपत्ति जनाएका छन्। उनका अनुसार पार्टी विधानको खुला उल्लङ्घन गर्दै नेतृत्वले स्वेच्छाचारी निर्णय गरिरहेको छ, जसले कांग्रेसको लोकतान्त्रिक चरित्रमाथि गम्भीर प्रश्न उठाएको छ।

घिमिरेले महाधिवेशनको कागजी कार्यतालिका समेत कार्यान्वयन नगर्ने, मनलाग्दी रूपमा मिति सार्ने र पार्टी सदस्यलाई अग्रिम जानकारी नदिने प्रवृत्तिलाई अलोकतान्त्रिक मात्र नभई तानाशाहीपूर्ण व्यवहारको संज्ञा दिएका छन्। यस्तो अभ्यासले पार्टीभित्र अविश्वास र असन्तोष बढाएको उनको भनाइ छ।

नेपाली कांग्रेसले ७५ वर्षअघि हुकुमी शासनको अन्त्य गरेको इतिहास स्मरण गराउँदै घिमिरेले अहिले पार्टीभित्रै उस्तै शैलीको अभ्यास देखिन थालेको टिप्पणी गरेका छन्। 

विशेष महाधिवेशनको मागलाई बेवास्ता गर्दै जबरजस्ती निर्णय लादिए भविष्यमा गम्भीर राजनीतिक दुर्घटना हुनसक्ने चेतावनी पनि उनले दिएका छन् ।