अमेरिकाको दाबी: मादुरो दम्पती पक्राउ, भेनेजुएलामा राष्ट्रिय आपतकाल
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरेको दाबी गरेका छन्।
ट्रम्पका अनुसार भेनेजुएलामा गरिएको ‘ठूलो स्तरको’ सैन्य कारबाहीपछि मादुरो दम्पतीलाई नियन्त्रणमा लिएर देशबाहिर लगिएको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले ट्रम्पको दाबीलाई उद्धृत गरे पनि हालसम्म यसबारे स्वतन्त्र अन्तर्राष्ट्रिय निकाय वा भेनेजुएलाको तर्फबाट आधिकारिक पुष्टि भएको छैन।
भेनेजुएलाको सरकारले भने अमेरिकाले आफ्ना विभिन्न राज्यमा रहेका नागरिक तथा सैनिक संरचनामाथि आक्रमण गरेको आरोप लगाउँदै वाशिङ्टनको कदमलाई खुला ‘सैनिक आक्रामकता’ भनेको छ।
भेनेजुएला सरकारले अमेरिकाको निरन्तर आक्रमणपछि देशभर राष्ट्रिय आपतकाल घोषणा गरेको छ। सरकारी विज्ञप्तिमा देशको सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षामाथि गम्भीर खतरा उत्पन्न भएको उल्लेख गरिएको छ।
भेनेजुएलाली सरकारी स्रोतका अनुसार अमेरिकाले शनिबार मध्यराति राजधानी काराकाससहित मिरान्डा, अरागुआ र ला गुएरा राज्यमा रहेका सैन्य अड्डाहरूलाई लक्षित गर्दै हवाई आक्रमण गरेको थियो। आक्रमणबाट भएको मानवीय तथा भौतिक क्षतिको यथार्थ विवरण अझै सार्वजनिक गरिएको छैन।
यस घटनापछि अमेरिका–भेनेजुएला सम्बन्ध अत्यन्त तनावपूर्ण बनेको छ।













