भट्टराईको कडा प्रतिक्रिया: मादुरोको अपहरण अन्तर्राष्ट्रिय कानुनमाथिको नाङ्गो हमला

User Image Prime TV News १ हप्ता अगाडि
Image of भट्टराईको कडा प्रतिक्रिया: मादुरोको अपहरण अन्तर्राष्ट्रिय कानुनमाथिको नाङ्गो हमला

काठमाडौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य आक्रमण र राष्ट्रपति निकोलस मादुरोको अपहरणलाई अन्तर्राष्ट्रिय कानुनको भद्दा उल्लङ्घन भएको बताएका छन्।

संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्रमाथि यसरी गरिएको खुला हस्तक्षेपले विश्वमा स्थापित अन्तर्राष्ट्रिय प्रणाली नै संकटमा परेको उनको ठहर छ।

भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा अमेरिकाको यो कदम कुनै पनि कानुनी, नैतिक वा कूटनीतिक मान्यताले ठहरिन नसक्ने खालको भएको बताएका छन् ।

उनले यस्तो व्यवहारलाई ‘जसको लाठी उसको भैँसी’ प्रवृत्तिको संज्ञा दिँदै शक्तिशाली राष्ट्रको दादागिरीलाई समयमै रोक्न नसके विश्वव्यापी अस्थिरता र गम्भीर अनिष्ट निम्तिन सक्ने चेतावनी दिएका छन्।

भेनेजुएलाको आन्तरिक राजनीतिक मामिलामा सैन्य बल प्रयोग गरी निर्वाचित राष्ट्रपतिलाई नै देश बाहिर लैजानु अन्तर्राष्ट्रिय सुरक्षा, सार्वभौमिकता र मर्यादामाथिको सीधा आक्रमण भएको भट्टराईको विश्लेषण छ।

उनले सबै सार्वभौम राष्ट्र, अन्तर्राष्ट्रिय संस्था र विश्व जनसमुदायलाई अमेरिकी कदमको कडा शब्दमा विरोध गर्न आग्रह गरेका छन् ।