मादुरो कहाँ छन् ? उपराष्ट्रपतिले भनिन्: राष्ट्रपति र फर्स्ट लेडीको अवस्था अज्ञात
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सीलिया फ्लोरेसको अवस्था हालसम्म अज्ञात रहेको बताएकी छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मादुरोलाई पत्नीका साथ पक्राउ गरी देशबाहिर लगिएको दाबी गरेपछि भेनेजुएलाको शीर्ष तहबाट यस्तो गम्भीर स्वीकारोक्ति आएको हो।
उपराष्ट्रपति रोड्रिग्जले सरकारसँग राष्ट्रपति मादुरो र फर्स्ट लेडीबारे कुनै आधिकारिक जानकारी नभएको स्पष्ट पार्दै राष्ट्रपति जीवित रहेको प्रमाणसमेत माग गरेकी छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार रोड्रिग्जले यो अवस्थालाई अस्वीकार्य र गम्भीर राष्ट्रिय संकटको रूपमा व्याख्या गरेकी छन्।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’मा अमेरिकाले भेनेजुएला र उसका नेता राष्ट्रपति मादुरोविरुद्ध ‘ठूलो स्तरको सफल आक्रमण’ गरेको दाबी गरेका थिए।
ट्रम्पले मादुरोलाई उनकी पत्नीका साथ पक्राउ गरी देशबाहिर लगिएको उल्लेख गरेका छन्। तर उक्त दाबीको स्वतन्त्र अन्तर्राष्ट्रिय पुष्टि हालसम्म भएको छैन।
राजधानी काराकासमा भएको आक्रमणपछि राष्ट्रपति मादुरोले राष्ट्रिय संकटकाल घोषणा गरेको भनिए पनि अहिले सरकार स्वयं राष्ट्रपतिको अवस्थाबारे अनभिज्ञ रहेको स्वीकारोक्तिले भेनेजुएलाको राजनीतिक र सुरक्षा अवस्था गहिरो अनिश्चिततामा फसेको देखिन्छ।













