वाग्लेको घोषणा: रास्वपा अब ‘किङमेकर’ होइन, सिधै बहुमतको दावेदार

User Image Prime TV News १ हप्ता अगाडि
Image of वाग्लेको घोषणा: रास्वपा अब ‘किङमेकर’ होइन, सिधै बहुमतको दावेदार

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीले १५१ सिट जित्ने लक्ष्यसहित मैदानमा उत्रिने घोषणा गरेका छन्।

पोखरामा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपाले अब कसैको सरकार बनाउने ‘म्याजिक नम्बर’ बन्ने राजनीति पूर्ण रूपमा अस्वीकार गरेको स्पष्ट पारे।

वाग्लेले २१ सिटबाट ५०–६० सिटसम्म सीमित भएर सत्ताको लेनदेनमा रमाउनु सजिलो बाटो भए पनि त्यसले देशको जरो गाडिएको अस्थिरता समाधान नगर्ने बताए। उनका अनुसार मुलुकलाई निर्णायक मोडमा लैजान पूर्ण बहुमत बाहेक अर्को विकल्प छैन। “सानो लाभका लागि सत्ता खेल खेल्ने हाम्रो उद्देश्य होइन,” उनले भने, “देश बदल्ने हो भने बहुमत चाहिन्छ, र हामी त्यसैका लागि लड्दैछौँ।”

संसदमा सीमित संख्यामा रहे पनि रास्वपाले पुराना दलहरूको अहंकारलाई हल्लाइदिएको वाग्लेको दाबी थियो। दुई तिहाइको दम्भमा गरिएको व्यवहारका कारण लोकतान्त्रिक शक्तिलाई संसदबाटै बहिष्कृत गर्ने प्रयास भएको उनले आरोप लगाए।

उनले विगत ३५ वर्षमा कांग्रेस, एमाले र माओवादीले पटक–पटक शासन गर्ने मौका पाए पनि त्यसलाई देश र जनताको हितमा प्रयोग गर्न नसकेको आरोप लगाए। यही असफलताका कारण जनतामा वैकल्पिक शक्तिको खोजी तीव्र बनेको र रास्वपाप्रति भरोसा बढेको उनको भनाइ थियो।

वाग्लेले आगामी निर्वाचनपछि रास्वपाले सरकारको नेतृत्व सम्हाल्ने र नयाँ राजनीतिक संस्कारको अभ्यास सुरु गर्ने दाबी गरे।