एनभीए भलिबलमा हेल्प नेपालको दबदबा कायम, पुरुषतर्फ लगातार तेस्रो उपाधि

User Image Prime TV News १ हप्ता अगाडि
Image of एनभीए भलिबलमा हेल्प नेपालको दबदबा कायम, पुरुषतर्फ लगातार तेस्रो उपाधि

काठमाडौ । टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबले एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा आफ्नो वर्चस्व फेरि प्रमाणित गरेको छ। शनिबार सम्पन्न फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै हेल्प नेपालले पुरुषतर्फ लगातार तेस्रो पटक उपाधि जितेको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष फाइनल खेलमा हेल्प नेपालले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो। हेल्प नेपालले २५–२१, २५–२१ र २५–२० को सेट जित निकाल्दै आर्मीलाई कुनै पनि सेटमा खेलमा फर्किन दिएन।

यससँगै हेल्प नेपालले २०७९, २०८० र चालु सिजन गरी नवौँ संस्करणसम्म लगातार तीन पटक उपाधि जित्दै एनभीए भलिबलमा आफ्नो दबदबा मजबुत बनाएको छ। २०७८ यता हेल्प नेपाल र आर्मी चार पटक लगातार फाइनलमा भेटिएका थिए । जसमा पछिल्ला तीन संस्करणमा हेल्प नेपालले आर्मीलाई पराजित गरेको हो।

पुरुषतर्फ तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लबले रुकुम पश्चिम ट्रेनिङ सेन्टरलाई रोमाञ्चक खेलमा ३–२ ले हरायो। पहिलो दुई सेट गुमाएको पुलिस क्लबले उत्कृष्ट पुनरागमन गर्दै २५–२७, २३–२५, २६–२४, २५–२२ र १५–१० को जित निकाल्दै तेस्रो स्थान सुरक्षित गर्‍यो।

महिलातर्फ भने टिपटप न्यु डायमन्ड युथ स्पोर्टस् क्लब च्याम्पियन बनेको छ। चार वर्षपछि एनभीए भलिबलको महिलातर्फको उपाधि जित्ने क्रममा न्यु डायमन्डले फाइनलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो। डायमन्डले २५–१८, २५–१९ र २५–१८ को सेट जित निकाल्यो।

महिलातर्फ तेस्रो स्थानका लागि भएको खेलमा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–० ले पराजित गर्‍यो। एपीएफले २५–१३, २५–१७ र २५–१० को एकपक्षीय जित निकाल्दै प्रतियोगिता तेस्रो स्थानमा समाप्त गर्‍यो।