बहुमतको निर्णयलाई चुनौती दिँदै अघि बढ्नु गलत अभ्यास: सहमहामन्त्री परियार
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विषयलाई लिएर आन्तरिक मतभेद थप स्पष्ट देखिन थालेको छ।
सहमहामन्त्री जीवन परियारले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पुसभित्रै विशेष महाधिवेशन गर्नुपर्ने भन्दै लिएको अडानप्रति असहमति जनाउँदै उक्त धारणा पार्टीको औपचारिक निर्णय नभएको बताएका छन्।
शनिबार डा. शेखर कोइराला पक्षधर नेताहरूको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै परियारले पार्टीभित्र विचार, बहस र विमर्श स्वाभाविक भए पनि अन्तिम निर्णय संस्थागत प्रक्रियाबाटै हुनुपर्ने स्पष्ट पारे।
उनका अनुसार पार्टीमा सबैको सोच एउटै नहुन सक्छ, तर बहुमतबाट आएको निर्णयलाई स्वीकार गर्नु लोकतान्त्रिक पार्टीको आधार हो। परियारले विशेष महाधिवेशनबारे महामन्त्रीद्वयको अडानलाई व्यक्तिगत दृष्टिकोणका रूपमा चित्रण गर्दै पार्टीलाई व्यक्तिगत इच्छाअनुसार चलाउन खोज्ने प्रवृत्ति स्वीकार्य नहुने बताए।
उनले पार्टीको निर्णय चित्त नबुझे आफ्ना असहमति नेता–कार्यकर्ता र जनतामाझ राख्न सकिने भए पनि बहुमतको निर्णयलाई चुनौती दिँदै अघि बढ्नु गलत अभ्यास भएको उल्लेख गरे।
कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका पारित गरिसकेको छ। त्यस निर्णयपछि पनि महामन्त्रीद्वयले पुसको अन्तिमसम्म विशेष महाधिवेशन गर्नुपर्ने अडान नछाडेपछि पार्टीभित्र तनाव बढ्दै गएको देखिएको छ।












