पश्चिमी वायू सक्रिय, तराईमा बाक्लो कुहिरो र हिमाली क्षेत्रमा वर्षा–हिमपातको चेतावनी
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । देशभर आज पश्चिमी वायूको प्रभाव सक्रिय रहेको छ।
जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ, जसले जनजीवन र यातायातमा असर पार्ने देखिएको छ।
महाशाखाले जनाएको अनुसार कोशी प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ। यस्तै, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज राति तराईका धेरै स्थानमा कुहिरो झन् बाक्लिने पूर्वानुमान गरिएको छ। कोशी प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बदली रहने र अन्य भूभागमा मौसम खुला रहने महाशाखाले स्पष्ट गरेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ।
आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा तथा हिमपात र तराई क्षेत्रमा कुहिरो लाग्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यसको प्रभाव दैनिक जनजीवन, स्वास्थ्य, पर्यटन तथा सडक यातायातमा पर्न सक्ने देखिएको छ ।












