अमेरिकी आक्रमणपछि भेनेजुएला संकट अन्तर्राष्ट्रियकरण, विश्व शक्तिहरू आमनेसामने

User Image Prime TV News १ हप्ता अगाडि
Image of अमेरिकी आक्रमणपछि भेनेजुएला संकट अन्तर्राष्ट्रियकरण, विश्व शक्तिहरू आमनेसामने

काठमाडौ । भेनेजुएलामा अमेरिकाले गरेको सैन्य आक्रमण र राष्ट्रपति निकोलास मादुरो पक्राउ परेको दाबीपछि अन्तर्राष्ट्रिय राजनीति गम्भीर मोडमा पुगेको छ।

घटनापछि विश्वभरका देश तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट समर्थनभन्दा कडा विरोधका प्रतिक्रिया तीव्र रूपमा आइरहेका छन् । अकस्मात विकसित भएको यो संकटले ल्याटिन अमेरिका मात्र होइन, विश्व शक्तिहरूबीचको शक्ति सन्तुलनमै असर पार्ने संकेत देखिएको छ।

यसको सबैभन्दा प्रत्यक्ष असर भेनेजुएलाको छिमेकी देश कोलम्बियामा पर्ने देखिएको छ।

कोलम्बियामा उच्च सतर्कता

भेनेजुएलासँग लामो सीमा साझा गर्ने कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रोले अमेरिकी कारबाहीप्रति गहिरो चिन्ता व्यक्त गर्दै सीमामा सेना तैनाथ गर्न आदेश दिएका छन्।

भेनेजुएलाबाट ठूलो सङ्ख्यामा शरणार्थी प्रवेश हुन सक्ने आशंकाका कारण सुरक्षा सतर्कता बढाइएको हो। पेत्रोले सुरुदेखि नै शान्ति र संवादको पक्षमा अडान लिँदै आएका छन्।

राष्ट्रसंघको कडा चेतावनी

संयुक्त राष्ट्रसंघले मादुरो पक्राउ गरिएको भन्ने सूचनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भनेको छ।

महासचिवका प्रवक्ता स्टेफन दुजारिकले यस्तो कार्य ‘खतरनाक नजिर’ भएको बताएका छन् र भेनेजुएलाका सबै पक्षलाई मानव अधिकार र विधिको शासनको सम्मान गर्न आग्रह गरेका छन्।

युरोप संयमको पक्षमा

युरोपेली संघकी विदेश नीति प्रमुख काजा कलासले घटनाबारे अमेरिकी विदेशमन्त्री र इयू राजदूतसँग छलफल गरेको जानकारी दिएकी छन्।

इयूले मादुरोको वैधानिकता अस्वीकार गरे पनि जुनसुकै अवस्थामा अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको चार्टर पालना हुनुपर्ने स्पष्ट पारेको छ।

बेलायत दूरीमा, सांसदहरू आक्रोशित

बेलायती प्रधानमन्त्री किअर स्टार्मरले भेनेजुएलामा भएको अमेरिकी कारबाहीमा बेलायत कुनै रूपमा संलग्न नरहेको बताएका छन्।

उनले राष्ट्रपति ट्रम्पसँग यस विषयमा कुराकानी नभएको पनि स्पष्ट पारेका छन्। तर बेलायतका कैयौँ सांसदहरूले भने उक्त आक्रमणको खुला निन्दा गरेका छन्।

रुस–चीनको तीव्र विरोध

रुस र चीनले अमेरिकी सैन्य कारबाहीको कडा शब्दमा निन्दा गरेका छन्। मस्कोले यसलाई स्वतन्त्र राष्ट्रको सार्वभौमिकतामाथिको अस्वीकार्य आक्रमण भनेको छ र आपतकालीन संयुक्त राष्ट्र सुरक्षा परिषद् बैठकको माग गरेको छ।

चीनले अमेरिकाको कदमलाई प्रभुत्ववादी भन्दै ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रको शान्ति र सुरक्षामाथि गम्भीर खतरा उत्पन्न भएको जनाएको छ।

स्पेन मध्यस्थताका लागि तयार

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले तनाव नबढाउन संयम अपनाउन सबै पक्षलाई आग्रह गरेका छन्। उनले अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्दै शान्तिपूर्ण समाधानका लागि स्पेन मध्यस्थकर्ताको भूमिकामा तयार रहेको बताएका छन्।

भेनेजुएलाभित्र अन्योल र बाहिर उत्सव

भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति मादुरो र प्रथम महिला सिलिया फ्लोरेसको अवस्थाबारे कुनै जानकारी नभएको बताउँदै उनीहरू जीवित रहेको प्रमाण माग गरेकी छन्।

उता, अमेरिकाको दक्षिण फ्लोरिडामा रहेका भेनेजुएलाली प्रवासी समुदायले मदुरो पक्राउको खबरपछि सार्वजनिक रूपमा उत्सव मनाएका छन्।

यो संकट सामान्य कूटनीतिक विवाद होइन। सैन्य हस्तक्षेपलाई समाधान ठान्ने यो बाटो खतरनाक छ र यसले अन्तर्राष्ट्रिय व्यवस्था कमजोर बनाउने स्पष्ट संकेत देखिएको छ। अब संयम र कानुनी मार्ग रोजिएन भने यसको मूल्य सारा क्षेत्रले चुकाउनुपर्ने अवस्था आउन सक्छ ।