नेकपा संयोजक प्रचण्ड भारत जाँदै, नयाँ दिल्लीमा प्रवासी नेपालीसँग संवाद
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत प्रस्थान गर्दैछन्।
नेपाली समाज भारतको आयोजनामा नयाँ दिल्लीमा हुने 'एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम' मा सहभागी हुन उनी भारत जान लागेको पार्टी सचिवालयले जनाएको छ।
सोमबार लाजपत नगरस्थित लाजपत भवन अडिटोरियममा आयोजना हुने कार्यक्रममा प्रचण्डले भारतमा बसोबास गर्ने नेपाली समुदायलाई सम्बोधन गर्नेछन्।
कार्यक्रममा नेपाल–भारत सम्बन्ध, प्रवासी नेपालीका समस्या, अवसर, साझा सरोकार तथा एकता र सहकार्यको आवश्यकता विषयमा धारणा राखिने नेपाली समाज भारतका महासचिव आरबी खड्काले जानकारी दिए।
तत्कालीन माओवादी केन्द्र र तत्कालीन एकीकृत समाजवादीबीच एकता भएपछि प्रचण्डको यो पहिलो भारत भ्रमण हो। त्यसैले यस भ्रमणलाई केवल सामाजिक कार्यक्रमको रूपमा मात्र होइन, राजनीतिक सन्देश बोकेको कदमका रूपमा पनि हेरिएको छ।
नेपाली समाज भारतले जारी गरेको विज्ञप्तिमा भारतमा रहेका नेपाली समुदायलाई संगठित गर्दै सामाजिक–राजनीतिक चेतना अभिवृद्धि गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको उल्लेख गरिएको छ।
प्रवासी नेपालीको हक–हित, पहिचान र आपसी सहकार्य सुदृढ गर्ने अभियानमा यो कार्यक्रम महत्वपूर्ण मानिएको छ। कार्यक्रमलाई सम्बोधन गरेपछि प्रचण्ड सोमबार साँझ नै स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ ।
निर्वाचन नजिकिँदै गर्दा नयाँ दिल्ली भ्रमणलाई समय र सन्देश दुवै दृष्टिले अर्थपूर्ण मानिएको छ ।












