कांग्रेस सरकारबाट बाहिरिने वा सरकारको नेतृत्व गर्ने भन्ने कुरा केन्द्रीय समिति बैठकको अन्तिम दिन थाहा हुन्छः मिन विश्वकर्मा


काठमाडौं, १७ असार । नेपाली कांग्रेसका प्रचारविभाग प्रमुख मिन विश्वकर्माले पार्टी सरकारबाट बाहिरिने वा सरकारको नेतृत्व गर्ने भन्ने कुरा केन्द्रीय समिति बैठकको अन्तिम दिन थाहा हुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले केन्द्रीय समिति बैठकले गर्ने निर्णयमा अहिले अनुमान लगाउनु निरर्थक हुने बताएका हुन् ।
कांग्रेसको केन्द्रीय समिति बैठक हिजोदेखि सुरु भएको छ । बैठकमा नेता डा.शेखर कोइरालाले सरकारको औचित्यतामाथि प्रश्न उठाएका थिए । नेता कोइरालाले उठाएको प्रश्नमाथि केन्द्रीत हुँदै प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ‘बैठक चलिराखेको छ । अहिले अनुमान गर्नु निरर्थक हुन्छ । सरकारबाट बाहिरिने या सरकारको नेतृत्व गर्ने भन्ने कुरा बैठकको समापन गर्ने दिन हुन्छ । त्यो विषयमा अहिले बैठक केन्द्रित भएको छैन ।’
साथै, फरक प्रसंगमा उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी दल विशेषको राजनीतिमा आउने कुरा ठीक नभएको बताए । उनले पूर्वराष्ट्रपतिहरु पनि सबैको साझा व्यक्ति भएर बस्न सक्नुपर्ने बताए । पूर्वराष्ट्रपति भइसकेका व्यक्तिहरुले शक्तिको राजनीतिको आकांक्षा राख्न नहुने उनको भनाइ छ ।
‘राष्ट्रको अभिभावक बनिसकेको, सबैको साझा व्यक्ति भएको भनेर पार्टी सदस्यता त्यागेको व्यक्तिले फेरि नागरिकहरुलाई धोका दिनेगरी, नागरिकहरुको विश्वासमा घात गर्नेगरी, फेरि पनि विभिन्न राजनीतिक आशक्तिले, अथवा शक्तिको राजनीति गर्ने लालसाले पार्टी विशेषको सक्रिय राजनीतिमा फर्किनु नैतिकरुपले र परम्परागतरुपले पनि आघात पुग्छ । ठीक होइन भन्ने नै लाग्छ मलाई,’ उनले भने, ‘हामीले परिकल्पना गरेको, हामीले अपेक्षा गरेको राष्ट्रपति चाहिँ सबैको साझा हो । उहाँ निवृत्त भइसकेपछि, पदबाट बाहिर गइसकेपछि पनि सबैको साझा बन्नु्हुन्छ र पूर्वराष्ट्रपति भनेर सबैले साझा सम्मान गर्छन् भन्ने हाम्रो विश्वासमा हो ।’