उखु किसानको आन्दोलनमा दलका नेता


काठमाडाै । उखु किसानहरुको धर्ना आज पनि जारी रह्यो । उखु किसानहरुले आइतबारदेखि माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन् ।
उखुमा गत आर्थिक वर्ष ०८१ र ८२ को प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान भुक्तानी गर्नुपर्ने, मूल्य निर्धारणमा किसानको सहभागिता सुनिश्चित गर्नुपर्ने, अनुदान तुरुन्त उपलब्ध गराउनुपर्ने र उखुमा लाग्ने भ्याट खारेज गर्नुपर्ने माग अघि सारेका छन्।
पटक पटक आन्दोलन गर्दै आएपनि आफ्ना माग सरकारले सम्वाेधन नगरेका कारण आफूहरु काठमाडौंको सडकमै धर्ना दिन बाध्य भएको किसानहरुको भनाई छ । सोमबार किसानहरूले उखु नै बोकेर आन्दोलनमा सहभागी भएका थिए । सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र नवलपरासीका किसानहरू प्रदर्शनमा सहभागी छन् ।
यसै विच उखु किसानकाे आन्दाेलनलाई विभिन्न राजनीतिक दलहरुले समर्थन गरेका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले उखु किसानको आन्दोलनमा पुगेर एक्यवद्दता जनाएका छन् । किसानहरुको माग जायज भएको भन्दै उनीहरुको माग सरकारले पुरा गर्नु पर्ने धारणा नेता श्रेष्ठकाे थियो ।
यस्तै एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधब कुमार नेपाल पनि उखु किसानहरुको आन्दोलनमा पुगेर एक्यबद्दता जनाएका छन् । अध्यक्ष नेपाल उखु किसानहरूसँगै धर्नामा बसेका थिए ।
त्यस अघि पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी (नयाँ शक्ति) पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि माइतीघरमण्डला पुगेर उखु किसानहरुकाे आन्दाेलनमा समर्थन जनाएका थिए ।