अमेरिकी आक्रमणमा भेनेजुएलामा कम्तीमा ४० जनाको मृत्यु, मादुरो दम्पती अमेरिकाको नियन्त्रणमा
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । अमेरिकाले भेनेजुएलामा गरेको सैन्य आक्रमणका क्रममा सर्वसाधारण र सैनिक गरी कम्तीमा ४० जनाको मृत्यु भएको दाबी गरिएको छ। न्युयोर्क टाइम्सले आइतबार प्रकाशित गरेको रिपोर्टमा भेनेजुएलाका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै उक्त जानकारी सार्वजनिक गरिएको हो।
रिपोर्टअनुसार शनिबार बिहानै अमेरिकी सेनाले राजधानी काराकाससहित विभिन्न शहरहरूमा व्यापक हवाई तथा स्थल आक्रमण गरेको थियो। उक्त कारबाहीको मुख्य उद्देश्य राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिने रहेको अमेरिकी अधिकारीहरूले बताएका छन्। आक्रमणकै क्रममा मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएर अमेरिकाको न्यूयोर्क पुर्याइएको बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई ‘रातारात सम्पन्न भएको सफल अपरेसन’ भन्दै आक्रमणमा कुनै मानवीय क्षति नभएको दाबी गरेका थिए। तर न्युयोर्क टाइम्सको रिपोर्टले अमेरिकी आक्रमणका क्रममा सर्वसाधारण र सैनिकहरूको ज्यान गएको उल्लेख गरेको छ।
अमेरिकी अधिकारीहरूका अनुसार अपरेसनमा १५० भन्दा बढी अमेरिकी सैन्य विमान प्रयोग गरिएको थियो। हवाई प्रतिरक्षा प्रणाली निष्क्रिय पार्न व्यापक हवाई हमला गरिएपछि हेलिकोप्टरमार्फत विशेष फौज पठाई मादुरो बसेको निवासमा आक्रमण गरिएको थियो।
हालसम्म ह्वाइट हाउस वा पेन्टागनले मृत्यु संख्या वा सैन्य अपरेसनको विस्तृत विवरणबारे औपचारिक पुष्टि गरेका छैनन्। मादुरो दम्पतीलाई नियन्त्रणमा लिएपछि अमेरिकाले ‘सुरक्षित, उपयुक्त र विवेकपूर्ण सत्ता हस्तान्तरण’ नभएसम्म भेनेजुएलाको प्रशासन सञ्चालन गर्ने राष्ट्रपति ट्रम्पको भनाइ छ।













