कांग्रेस महाधिवेशन विवाद चुलिँदा समाधान खोज्न पदाधिकारी बैठक

User Image Prime TV News १ हप्ता अगाडि
Image of कांग्रेस महाधिवेशन विवाद चुलिँदा समाधान खोज्न पदाधिकारी बैठक

काठमाडौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मिति सार्ने निर्णयपछि पार्टीभित्र देखिएको विवाद समाधान गर्न पदाधिकारी बैठक आह्वान गरिएको छ। आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिएका छन्।

कार्यसम्पादन समिति बैठकले यसअघि पुस २६ देखि २८ गतेसम्म तय गरिएको महाधिवेशनको कार्यतालिका अनुसार काम हुन नसकेको भन्दै महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा गर्ने निर्णय बहुमतले गरेको थियो। सो निर्णयपछि पार्टीभित्र असन्तुष्टि सतहमा आएको छ।

महाधिवेशनको मिति सार्ने निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुर तथा कार्यसम्पादन समिति सदस्य अर्जुननरसिंह केसी र उमा रेग्मीले फरक मत राखेका छन्। उनीहरूले विधान र प्रक्रियालाई बेवास्ता गर्दै निर्णय गरिएको आरोप लगाएका छन्।

यसैबीच महामन्त्री गगन थापाले पुस मसान्तभित्र विशेष महाधिवेशन गरेरै छोड्ने सार्वजनिक घोषणा गरेका छन्। उनका अनुसार कांग्रेसका २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाइसकेका छन्।

पार्टी विधानअनुसार ४० प्रतिशत प्रतिनिधिको हस्ताक्षर परेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था रहेको थापाको दाबी छ। तर संस्थापन पक्षले भने नियमित महाधिवेशनको मिति मङ्सिर १५ गते नै तोकिइसकेकाले विशेष महाधिवेशन माग गर्दै बुझाइएका हस्ताक्षर निष्क्रिय भइसकेको बताउँदै आएको छ।