मादुरो नियन्त्रणमा परेपछि भेनेजुएलाको कार्यकारी राष्ट्रपति बनेकी डेल्सी रोड्रिगेज

User Image Prime TV News १ हप्ता अगाडि
Image of मादुरो नियन्त्रणमा परेपछि भेनेजुएलाको कार्यकारी राष्ट्रपति बनेकी डेल्सी रोड्रिगेज

काठमाडौ । अमेरिकाले राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासतमा राखेपछि भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सम्हालेकी छन्।

देशको प्रशासनिक निरन्तरता र सुरक्षा सुनिश्चित गर्न सर्वोच्च अदालतको निर्देशनअनुसार रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको भूमिका लिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। अमेरिकाले शनिबार भेनेजुएलामा सैन्य आक्रमण गरी राष्ट्रपति मादुरोलाई नियन्त्रणमा लिएको दाबी गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा अर्को सरकार नबन्दासम्म अमेरिकाले नै सरकार सञ्चालन गर्ने अभिव्यक्ति दिएपछि अन्तर्राष्ट्रिय स्तरमा व्यापक चासो र आलोचना सुरु भएको छ। यस घटनाक्रमपछि उपराष्ट्रपति रोड्रिगेजले अमेरिकी हस्तक्षेपको कडा विरोध गर्दै देशको सार्वभौमिकतामाथि आक्रमण भएको प्रतिक्रिया दिएकी छन्।

उनले राज्य संयन्त्रलाई स्थिर राख्दै सरकारको नियमित कामकाज जारी रहने बताएकी छन्।

को हुन् डेल्सी रोड्रिगेज ?

डेल्सी रोड्रिगेजको जन्म १८ मे १९६९ मा काराकसमा भएको हो। उनका पिता जर्ज एन्टोनियो रोड्रिगेज वामपन्थी गुरिल्ला लडाकू तथा ‘लीगा सोशलिस्टा’ पार्टीका संस्थापक थिए। कानूनमा स्नातक गरेकी रोड्रिगेज पेशाले अधिवक्ता हुन्।

उनी लामो समयदेखि मादुरो सरकारकी विश्वासपात्र सहयोगीका रूपमा चिनिन्छिन्। यसअघि उनले २०१३–२०१४ मा सञ्चार तथा सूचना मन्त्री, २०१४–२०१७ मा विदेश मन्त्री र २०१७ मा सरकार समर्थक संविधान सभाको प्रमुखको जिम्मेवारी सम्हालिसकेकी छन्।

सन् २०१८ जुनमा उपराष्ट्रपतिमा नियुक्त भएपछि उनी मुलुकका प्रमुख आर्थिक तथा राजनीतिक निर्णयमा प्रभावशाली भूमिकामा रहँदै आएकी छन्। सन् २०२४ अगस्टमा उनलाई तेल मन्त्रालयको अतिरिक्त जिम्मेवारी दिइएको थियो। अमेरिकी प्रतिबन्धका बीच भेनेजुएलाको ऊर्जा क्षेत्र सञ्चालनमा उनको भूमिका महत्वपूर्ण मानिँदै आएको छ। उपराष्ट्रपतिका रूपमा उनले चरम महँगी र आर्थिक संकट सामना गर्न विभिन्न नीति तथा कार्यक्रम अघि बढाएकी थिइन्।

मादुरो नियन्त्रणमा परेपछि रोड्रिगेजको कार्यकारी राष्ट्रपति नियुक्तिसँगै भेनेजुएलाको राजनीतिक भविष्य झन् अनिश्चित बनेको छ। विश्लेषकहरूले आगामी दिनमा देशभित्रको शक्ति सन्तुलन र अन्तर्राष्ट्रिय दबाबले भेनेजुएलाको दिशानिर्देश तय गर्ने बताएका छन्।