अमेरिकी हस्तक्षेपले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको एमालेको आरोप

User Image Prime TV News १ हप्ता अगाडि
Image of अमेरिकी हस्तक्षेपले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको एमालेको आरोप

काठमाडौ । नेकपा एमालेले अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएको घटनालाई आपत्तिजनक र अस्वीकार्य भएको ठहर गरेको छ। पार्टीका महासचिव शङ्कर पोखरेलले उक्त कदमले अन्तर्राष्ट्रिय कानुन, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर आघात पुर्‍याएको बताएका छन्।

महासचिव पोखरेलले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै कुनै पनि देशका जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिनु संयुक्त राष्ट्रसङ्घको वडापत्रको ठाडो उल्लङ्घन भएको उल्लेख गरेका छन्। उनले यस किसिमका घटनाले संयुक्त राष्ट्रसङ्घसहित अन्तर्राष्ट्रिय संस्थाहरूको औचित्यमाथि नै प्रश्न उठाउने बताएका छन्।

उनका अनुसार अमेरिकाको यस्तो कदम आधुनिक विश्व व्यवस्था र सभ्य समाजका लागि स्वीकार्य हुन सक्दैन। ‘भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप र राष्ट्रपति मादुरोलाई नियन्त्रणमा लिइएको सन्दर्भले अन्तर्राष्ट्रिय कानुन र लोकतान्त्रिक मान्यतामाथि गम्भीर प्रश्न उठाएको छ,’ पोखरेलले लेखेका छन्।

महासचिव पोखरेलले यस्ता घटनाका बारेमा अन्तर्राष्ट्रिय समुदायले गम्भीर ध्यान दिनुपर्ने र स्वयं अमेरिकी समाजभित्र पनि जिम्मेवार बहस आवश्यक रहेको धारणा व्यक्त गरेका छन्। उनले विश्व शान्ति र राष्ट्रहरूको सार्वभौमिकताको सम्मानका लागि अन्तर्राष्ट्रिय नियम र मूल्यको पालना अनिवार्य रहेको उल्लेख गर्दै संयमित र उत्तरदायी व्यवहार गर्न सबै देशलाई आग्रह गरेका छन्।