ओली–प्रचण्ड भेट आज, राष्ट्रियसभा र प्रतिनिधिसभा चुनावी सहकार्य मुख्य एजेन्डा
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज आइतबार भेटवार्ता हुने भएको छ। एमाले केन्द्रीय कार्यालय च्यासलमा हुने भेटमा समसामयिक राजनीतिक परिस्थिति र आगामी निर्वाचनमा सम्भावित सहकार्यबारे छलफल हुने बताइएको छ।
एमालेका एक नेताका अनुसार प्रचण्ड संखुवासभाबाट काठमाडौं आइपुगेपछि आजै भेट गर्ने तयारी गरिएको हो। यसअघि पुस १९ गते शनिबार भेट्ने तयारी भए पनि प्रचण्डको यात्रा ढिलाइका कारण भेट हुन सकेको थिएन। नेकपा नेता वर्षमान पुनले पनि ओली–प्रचण्ड भेटको तयारी भएको पुष्टि गरेका छन्।
आज साँझ प्रचण्ड नयाँदिल्ली जाने कार्यक्रम रहेकाले भेटवार्ता सीमित समयमै सम्पन्न हुने जनाइएको छ। तर भेटलाई आगामी राजनीतिक समीकरणका हिसाबले महत्वपूर्ण मानिएको छ।
एमाले स्रोतका अनुसार भेटमा मुख्यतः राष्ट्रियसभा निर्वाचनमा दलहरूबीचको तालमेलबारे छलफल हुनेछ। यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भएको भेटमा राष्ट्रियसभामा कांग्रेस–एमाले सहकार्य गर्ने अनौपचारिक सहमति भइसकेको दाबी एमाले नेताहरूले गर्दै आएका छन्।
तर सो सहकार्यमा नेकपालाई पनि समेट्ने कि नसमेट्ने भन्ने विषय अन्तिम रूपमा टुंगिन बाँकी रहेको बताइएको छ। राष्ट्रियसभा निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता हुँदैछ भने निर्वाचन माघ ११ गते हुनेछ। रिक्त १९ सिटमध्ये १८ सिटका लागि निर्वाचन हुने र एक सिट मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था छ।
यसैबीच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा समेत कांग्रेस, एमाले र नेकपाबीच सहकार्य गर्ने विषयमा छलफल तीव्र बनेको छ। एमालेका एक पदाधिकारी तहका नेताका अनुसार अध्यक्ष ओलीको व्यक्तिगत चाहना पूर्ण रूपमा त्यसतर्फ नरहे पनि पार्टीभित्र संविधान पक्षधर शक्तिहरू एकजुट भएर जानुपर्ने दबाब बढ्दो छ।
शनिबार लम्जुङमा आयोजित कार्यक्रममा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले कांग्रेस, एमाले र नेकपाबीच ७०–७०–२५ सिटको तालमेल गरेर चुनाव लड्न सकिने धारणा सार्वजनिक गरेका थिए। आज हुने ओली–प्रचण्ड भेटले राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै निर्वाचनका लागि दलहरूबीचको भावी सहकार्यको दिशा तय गर्ने अपेक्षा गरिएको छ।













