अमेरिकाले नियन्त्रणमा लिएपछि समाप्त भयो मादुरोको लामो शासन
Prime TV News २ महिना अगाडि 
काठमाडौ । लामो समयदेखि विवादास्पद नेतृत्व गर्दै आएका भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी विशेष बलद्वारा नियन्त्रणमा लिएर देशबाहिर लगिएका छन्। ६३ वर्षीय मादुरोमाथि लागूऔषध तस्करी, अन्तर्राष्ट्रिय अपराध, शक्ति दुरुपयोग र भ्रष्टाचारका गम्भीर आरोपहरू लगाइएका छन्।
मादुरोको जन्म २३ नोभेम्बर १९६२ मा काराकास नजिकैको श्रमिक बस्ती एल भालेमा भएको थियो। बाल्यकालदेखि नै अभाव र संघर्षबीच हुर्किएका मादुरोले विद्यालय पढ्दाखेरी नै नेतृत्व क्षमता देखाए र विद्यार्थी युनियनको अध्यक्ष बनेका थिए ।
सन् १९८६ मा क्युबामा पुगेपछि उनले समाजवादलाई आफ्नो वैचारिक पहिचान बनाए। भेनेजुएलामा फर्केपछि उनले बस चालकको रूपमा काम गर्दा पनि युनियन र आन्दोलनमा सक्रिय रहे। सन् १९९० को दशकमा मादुरो ह्युगो चाभेजको राजनीतिक आन्दोलनमा जोडिए।
चाभेजको विश्वासपात्र र रणनीतिक सहयात्री बनेका मादुरो १९९८ मा चाभेजको राष्ट्रपति पदपछि सांसद, विदेशमन्त्री र उपराष्ट्रपति बने। २०१३ मा चाभेजको निधनअघि उनलाई उत्तराधिकारी घोषित गरेपछि मादुरो राष्ट्रपतिको कुर्सीमा पुगे।
राष्ट्रपति पदमा पुगेपछि मादुरोको कार्यकाल आर्थिक संकट, राजनीतिक अस्थिरता र सामाजिक असन्तोषले भरियो। विपक्षी प्रदर्शनमा सुरक्षा बलको कठोर दमन हुँदा ४३ जनाको मृत्यु भयो। २०१५ मा राष्ट्रिय सभामा बहुमत गुमाएपछि उनले संविधान सभा गठन गरेर विपक्षी संसद निष्क्रिय बनाए, जसलाई अन्तर्राष्ट्रिय समुदायले लोकतन्त्रको हत्या भने।
२०१८ मा काराकासमा आयोजित सैन्य परेडमा विस्फोटक जडित ड्रोन हमला पनि भयो। मादुरो जोगिए, तर घटनाले उनको असुरक्षा देखायो। देशको अर्थतन्त्र धराशायी भएको थियो, तेल उत्पादन घट्यो, मुद्रास्फीति नियन्त्रणबाहिर भयो, र लाखौँ नागरिकले देश छोडे।
सन् २०१८ र २०२४ का विवादास्पद निर्वाचनपछि मादुरो सत्तामा टिके पनि अमेरिकी र युरोपेली प्रतिबन्धले उनका प्रयासलाई कमजोर बनायो। २०२५ जनवरीमा तेस्रो कार्यकालको शपथ लिएका मादुरो अमेरिकी सैन्य सक्रियतासँग निर्णायक मोडमा परे। अब मादुरो अमेरिकी हिरासतमा छन्। उनका राजनीतिक सहयात्री र पत्नी सिलिया फ्लोरेस पनि नियन्त्रणमा छन्।
बस चालकदेखि राष्ट्रपति र राष्ट्रपति देखि बन्दीसम्मको यात्रा तय गरेका मादुरोको नाम भेनेजुएलाको इतिहासमा दमन, आर्थिक संकट र राजनीतिक अस्थिरताको प्रतीकका रूपमा रहिरहनेछ।













