रास्वपाले निर्वाचन र पार्टी एकतामा केन्द्रित दुई उपसमिति गठन गर्‍यो

User Image Prime TV News १ हप्ता अगाडि
Image of रास्वपाले निर्वाचन र पार्टी एकतामा केन्द्रित दुई उपसमिति गठन गर्‍यो

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ र पार्टी समायोजन प्रक्रियालाई केन्द्रमा राख्दै दुईवटा महत्वपूर्ण उपसमिति गठन गर्ने निर्णय गरेको छ।

पार्टीको केन्द्रीय कार्यालय बनस्थलीस्थित घण्टीघरमा बसेको केन्द्रीय समिति बैठकले योग्य उम्मेदवार छनोट सुनिश्चित गर्न उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस उपसमिति गठन गर्ने निर्णय गरेको हो। पार्टी प्रवक्ता मनिष झाले यस उपसमितिलाई निर्वाचनका लागि योग्य उम्मेदवारको पहिचान तथा छनोट प्रक्रिया सम्बन्धी स्पष्ट मापदण्ड तयार गरी सिफारिस गर्ने जिम्मेवारी दिइएको जानकारी दिए।

बैठकको निर्णयअनुसार उक्त उपसमितिका सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्नेछ। त्यसैगरी, पार्टीभित्रको एकता सुदृढ गर्दै विभिन्न समायोजन प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने उद्देश्यले महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता समायोजन उपसमिति गठन गरिएको छ।

यस उपसमितिका सदस्यहरू पनि पार्टी सचिवालयमार्फत तोक्ने निर्णय गरिएको प्रवक्ता झाले बताए। सभापति रवि लामिछाने जेलबाट रिहा भएपछि बसेको यो पहिलो केन्द्रीय समिति बैठकले पार्टीलाई आगामी निर्वाचन र संगठनात्मक सुदृढीकरणतर्फ केन्द्रित गर्न लागि परेको छ ।