समानुपातिक बन्दसूचीको प्रारम्भिक जाँच सकियो, दललाई २७ गतेसम्म त्रुटी सच्याउने अवसर
Prime TV News १ हप्ता अगाडि काठमाडौ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलहरूले पेस गरेको बन्दसूचीसम्बन्धी कागजातको प्रारम्भिक जाँच प्रक्रिया सम्पन्न गरेको छ। आयोगले पुस १६ गतेदेखि २० गतेसम्म दलहरूबाट दर्ता भएका बन्दसूचीका कागजातहरूको विस्तृत जाँच गरेको हो।
आयोगका तथ्याङ्क शाखा निर्देशक पूर्णबहादुर घर्तीमगरका अनुसार जाँचका क्रममा देखिएका कागजात नपुगेका, उमेर नपुगेका लगायतका सबै प्रकारका त्रुटीहरू सूचीबद्ध गरी सम्बन्धित राजनीतिक दललाई आइतबार साँझसम्म पत्रमार्फत जानकारी गराइनेछ। ती त्रुटीका आधारमा दलहरूले पुस २१ गतेदेखि २७ गतेसम्म आवश्यक सच्याएर पुनः बन्दसूची पेस गर्न सक्नेछन्।
निर्वाचन आयोगले पुस २७ गतेसम्म प्राप्त विवरणका आधारमा दलहरूको बन्दसूचीलाई अन्तिम रूप दिने तयारी गरेको छ। त्यसपछि समानुपातिक सूचीमा समावेश हुन नचाहने उम्मेदवारले पुस २८ गते आफ्नो उम्मेदवारी फिर्ता लिन पाउनेछन्। उम्मेदवारी फिर्तासम्बन्धी जानकारी आयोगले सम्बन्धित दलहरूलाई उपलब्ध गराउने जनाएको छ।
दलहरूबाट प्राप्त अन्तिम विवरणअनुसार खाली स्थानमा नयाँ उम्मेदवार सिफारिस गरिसकेपछि तयार हुने अन्तिम बन्दसूची निर्वाचन आयोगले सार्वजनिक गर्नेछ। फागुन २१ गते हुने निर्वाचनका लागि राजनीतिक दलहरूले पुस १३ र १४ गते समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका थिए।












