जाँचबुझ आयोगले बयानका लागि बोलायो एमाले अध्यक्ष ओलीलाई

User Image Prime TV News १ हप्ता अगाडि
Image of जाँचबुझ आयोगले बयानका लागि बोलायो एमाले अध्यक्ष ओलीलाई

काठमाडौ । जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि औपचारिक पत्र पठाएको छ। आयोगले आन्दोलनका बेला भएका निर्णय र सुरक्षा व्यवस्थासम्बन्धी विषयमा ओलीसँग प्रत्यक्ष रूपमा बयान लिने तयारी गरेको हो।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेको छ। लेखकको बयान प्रक्रिया टुंगिएपछि आयोगले तत्कालीन सरकार प्रमुखको हैसियतमा ओलीलाई पत्राचार गरेको जनाएको छ।

आयोगले यसअघि सुरक्षा निकायका प्रमुखहरू, काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारीलगायत विभिन्न सरोकारवाला व्यक्तिहरूसँग पनि बयान लिइसकेको छ। आन्दोलनका क्रममा गोली चलेको, प्रदर्शनमाथि दमन भएको र त्यसमा राज्य संयन्त्रको भूमिका के कस्तो थियो भन्ने विषय आयोगको छानबिनको केन्द्रमा छ।

सरकारले असोज ६ गते कार्की नेतृत्वमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहने गरी आयोग गठन गरेको थियो। तीन महिनाको म्याद दिइएको आयोगले काम पूरा गर्न नसकेपछि थप एक महिना समय पाएको छ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट गोली चलेको विषयमा तत्कालीन सरकारको भूमिकाबारे प्रश्न उठ्दै आएका छन्। ओलीले यसअघि विभिन्न सार्वजनिक कार्यक्रममा आफूले गोली चलाउने आदेश नदिएको दाबी गर्दै आएका छन्। यसैबीच तत्कालीन गृहमन्त्री लेखकले पनि आयोगसमक्ष बयान दिँदै आफूले त्यस्तो आदेश नदिएको बताएका छन्।

आयोगले ओलीको बयानपछि प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी अघि बढाउने जनाएको छ।