बालेन रास्वपाको केन्द्रीय राजनीतिमा प्रवेश, ‘वरिष्ठ नेता’को हैसियत

User Image Prime TV News १ हप्ता अगाडि
Image of बालेन रास्वपाको केन्द्रीय राजनीतिमा प्रवेश, ‘वरिष्ठ नेता’को हैसियत

काठमाडौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय राजनीतिमा प्रवेश गरेका छन्।

आइतबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनित गर्दै पार्टीको वरिष्ठ नेताका रूपमा अघि सारेको हो।

पार्टी प्रवक्ता मनिष झाका अनुसार, यसअघि स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरपालिकाको नेतृत्व सम्हालेका बालेन अब दलीय राजनीतिमा आबद्ध भएका छन्। केन्द्रीय समितिको बैठकमा महामन्त्री कविन्द्र बुर्लाकोटीले बालेनलाई ‘वरिष्ठ नेता’ भन्दै स्वागत गरेका थिए।

बैठकले बालेनसहित २६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ। रास्वपासँग भएको सहमतिअनुसार, बालेन समूहबाट केन्द्रीय सदस्य बनेका नेताहरूलाई महामन्त्री तथा सहमहामन्त्री पदको जिम्मेवारीसमेत दिने सहमति भएको प्रवक्ता झाले जानकारी दिए।

रास्वपा सभापति रवि लामिछाने र मेयर बालेनबीच पुस १३ गते एकता गर्ने सहमति भएको थियो। सोही सहमतिलाई कार्यान्वयन गर्दै आइतबारको बैठकले पार्टी समायोजन प्रक्रिया टुंगो लगाएको हो।

आज मनोनित केन्द्रीय सदस्यहरूमा सुनिल लम्साल, भुवदेव शाह, अस्मित पोखरेल, सागर ढकाल, लक्ष्मण थारू, रमेश पौडेल, खगेन्द्र सुनार, गणेश गुरुङ, सन्तोष गिरी, डा. नमिता यादव, शिव यादव, रोहन कार्की, अनन्तराज घिमिरे, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, जेम्स कार्की, मधुसुदन ढकाल, ओजस्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे र खेमराज साउँद रहेका छन्।

नवनियुक्त केन्द्रीय सदस्यहरूलाई रास्वपा सभापति रवि लामिछानेले केन्द्रीय समितिको बैठकमै पद तथा गोपनीयताको शपथ खुवाएका थिए।