भीमफेदी जुरीखेतमा टाटा सुमो दुर्घटना, ६ जनाको मृत्यु, ३ घाइते
Prime TV News १ हप्ता अगाडि 
हेटौडा । काठमाडौँ वैकल्पिक राजमार्ग अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा भएको टाटा सुमो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।
आइतबार साँझ ना१ज १७७८ नम्बरको टाटा सुमो सडकबाट करिब एक सय मिटर तल खोल्सामा खस्दा सवार यात्रुहरू गम्भीर घाइते भएका थिए। दुर्घटनापछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूलाई उद्धार गरी हेटौडा पुर्याइएको थियो।
प्रहरीका अनुसार सुमोमा ६ पुरुष, १ महिला, १ बालिका र १ बालक सवार थिए। तीमध्ये ७ जनाको अवस्था गम्भीर रहेकामा उपचारका क्रममा ६ जनाको मृत्यु भएको हो। बाँकी घाइतेहरूको अवस्था पनि चिन्ताजनक रहेको बताइएको छ।
दुर्घटनामा ज्यान गुमाउनेहरूको नाम र ठेगाना हालसम्म खुलेको छैन। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।












