कांग्रेस कार्यसम्पादन समिति आज बस्दै
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
यसअघि शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने निर्णय पारित गरेको थियो।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते विशेष महाधिवेशनको तयारी थालेपछि पार्टीभित्रको शक्ति संघर्ष खुला रूपमा बाहिर आएको छ। नेतृत्व एकातिर नियमित महाधिवेशनको मिति तोक्दैछ भने अर्कोतिर विधानअनुसार विशेष महाधिवेशनको प्रक्रिया अघि बढिरहेको छ।
गत असोज २९ गते कांग्रेसका कूल महाधिवेशन प्रतिनिधिमध्ये ५४ प्रतिशतले विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा औपचारिक निवेदन दर्ता गराएका थिए। १४औँ महाधिवेशनमा सहभागी ४ हजार ७४३ प्रतिनिधिमध्ये २ हजार ४८८ जनाले हस्ताक्षर गरेर विशेष महाधिवेशन आवश्यक भएको स्पष्ट सन्देश दिएका छन्।
कांग्रेस विधानअनुसार कूल प्रतिनिधिको कम्तीमा ४० प्रतिशतले माग गरेमा विशेष महाधिवेशन बोलाउनैपर्ने बाध्यकारी व्यवस्था छ। यस्तो स्पष्ट प्रावधान हुँदाहुँदै नेतृत्वले नियमित महाधिवेशनको मिति घोषणा गर्नुलाई पार्टीभित्रै ‘विधानको अपमान’ भनेर टिप्पणी हुन थालेको छ।













