फरार भएका २५४ जना कैदी सिन्धुली कारागार फर्किए


सिन्धुली । सिन्धुली कारागारबाट फरार भएका ४७१ कैदी मध्ये २५४ जना कैदी कारागार फर्किएका छन् । गत २५ गते आगजनी र तोडफोडपश्चात सिन्धुली कारागारबाट फरार भएका कैदीमध्ये २५४ जना फर्किएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
केही कैदीलाई बर्दिबास, खुर्कोट तथा सिन्धुलीका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको थियो । सिन्धुली कारागारबाट फरार भएका मध्ये २ जनालाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख सुवेदीका अनुसार फरार भएकामध्ये धेरैजसो आफैं उपस्थित भएका र केहीलाई सुरक्षाकर्मीहरूले पक्राउ गरी ल्याइएको हो ।
बाँकी कैदीहरूको खोजी कार्य अझै जारी छ । फर्किएका कैदीहरूमध्ये धेरैले परिस्थिति असामान्य भएकै कारण भाग्न बाध्य भएको बताएका छन् । कारागार व्यवस्थापनलाई पुनः सामान्य अवस्थामा ल्याउन बाँकी फरारलाई खोजी गर्ने र भविष्यमा यस्ता घटना नदोहरिने उपाय खोज्ने कार्यलाई प्राथमिकतामा राखिएको कारागार प्रशासनले जनाएको छ ।