मादुरो न्युयोर्कको संघीय अदालतमा उपस्थित हुँदै
Prime TV News एक महिना अगाडि 
काठमाडौ । भेनेजुएलाबाट नियन्त्रणमा लिइएका राष्ट्रपति निकोलस मादुरोलाई सोमबार दिउँसो न्युयोर्कस्थित म्यानहटनको संघीय अदालतमा उपस्थित गराइँदै छ।
यससँगै अमेरिकामा उनीविरुद्ध लामो समयदेखि तयार पारिँदै आएको आपराधिक मुद्दा औपचारिक रूपमा सुरु हुने भएको छ। अमेरिकी समयअनुसार दिउँसो १२ बजे सुरु हुने प्रारम्भिक सुनुवाइमा न्यायाधीशले मादुरोविरुद्ध लागेका गम्भीर आरोपहरू पढेर सुनाउनेछन्।
मादुरो र उनकी श्रीमतीलाई पहिलो पटक संघीय न्यायाधीशसमक्ष पेस गर्न लागिएको हो। सतहमा हेर्दा यो प्रक्रियागत सुनुवाइ मात्र देखिए पनि यसले वर्षौँसम्म चल्न सक्ने कठोर कानुनी लडाइँको सुरुआत गरेको छ।
अमेरिकी सरकारले पछिल्ला १५ वर्षदेखि अन्तर्राष्ट्रिय लागुऔषध तस्करीसँग सम्बन्धित अभियोगमा अनुसन्धान गर्दै आएको थियो। पछिल्ला छ वर्षदेखि मादुरोलाई यस मुद्दाको मुख्य प्रतिवादी बनाइएको छ।
मुद्दाको सुनुवाइ अमेरिकी जिल्ला न्यायाधीश एल्भिन के. हेलरस्टिनको इजलासमा हुनेछ। उनी विगत एक दशकभन्दा लामो समयदेखि यसै प्रकरणसँग जोडिएका कानुनी प्रक्रिया हेरिरहेका अनुभवी न्यायाधीश हुन्।
मुद्दाको अन्तिम टुंगो नलागेसम्म मादुरोलाई संघीय हिरासतमै राखिने सम्भावना उच्च छ। हाल उनी रहेको मेट्रोपोलिटन डिटेन्सन सेन्टरबाट करिब ९ माइल टाढा रहेको अदालतसम्म कडा सुरक्षा घेराबीच ल्याइने व्यवस्था मिलाइएको छ।
एक आपराधिक प्रतिवादीका रूपमा मादुरोले अमेरिकी कानुनअनुसार मौन बस्ने अधिकार, साथै भविष्यका सुनुवाइमा गवाही दिने वा नदिने निर्णय गर्ने अधिकार पाउनेछन्। तर उनले र उनकी श्रीमतीले अदालतसँग सहकार्य गर्छन् वा पूर्ण रूपमा मौन रणनीति अपनाउँछन् भन्ने विषय अझै स्पष्ट भइसकेको छैन।













