मधेशमा शान्ति र सद्भाव कायम राख्न मुख्यमन्त्री यादवको अपिल

User Image Prime TV News १ हप्ता अगाडि
Image of मधेशमा शान्ति र सद्भाव कायम राख्न मुख्यमन्त्री यादवको अपिल

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश भूमि सदियौंदेखि हिन्दु, मुस्लिमसहित सबै समुदायको साझा थलो रहँदै आएको उल्लेख गर्दै शान्ति, सद्भाव र एकताको मार्ग अवलम्बन गर्न सबै नागरिकलाई आग्रह गरेका छन्।

धनुषा जिल्लामा टिकटक भिडियोबाट सुरु भएको दुई समुदायबीचको विवादले तनावको अवस्था सिर्जना गर्न थालेपछि मुख्यमन्त्री यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै संयमता अपनाउन अपिल गरेका हुन्। उनले मधेशको विविधता नै यसको पहिचान र शक्ति भएको बताउँदै एकतामै मधेशको भविष्य सुरक्षित रहेको धारणा व्यक्त गरेका छन्।

‘मधेशको शक्ति एकतामा छ, विभाजनमा होइन,’ मुख्यमन्त्री यादवले भनेका छन्, ‘हाल देखिएका तनाव, अफवाह र उत्तेजनाका घटनाले हामी सबैलाई चिन्तित बनाएको छ।’ उनले हिंसाबाट कहिल्यै समाधान ननिस्कने स्पष्ट पार्दै धर्मका नाममा फैलाइने घृणा, हिंसा र विभाजन सभ्य समाजका लागि अस्वीकार्य रहेको बताएका छन्।

मुख्यमन्त्री यादवले हिंसात्मक गतिविधिले व्यक्ति, समाज र राज्य सबैलाई क्षति पुर्‍याउने उल्लेख गर्दै आपसी सहिष्णुता, संवाद र समझदारीमार्फत समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

प्रदेश सरकार सबै नागरिकको सुरक्षा, सम्मान र समान अधिकारप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले शान्ति–सुरक्षाको अवस्था थप सुदृढ बनाइने बताएका छन्। साथै, अफवाह फैलाउने तथा घृणात्मक गतिविधिमा संलग्न जो–कोहीलाई कानुनअनुसार कडा कारबाही गरिने चेतावनी पनि दिएका छन्।

उनले सबै राजनीतिक दल, सामाजिक अभियन्ता, धार्मिक अगुवा तथा सर्वसाधारणलाई शान्ति र सद्भाव कायम राख्न सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्दै मधेशलाई पुनः सहअस्तित्व र भाइचाराको उदाहरणका रूपमा स्थापित गर्न आह्वान गरेका छन्।