भेनेजुएलाबारे ट्रम्पको कडा चेतावनी: ‘अमेरिकाको निर्देशन नमान्ने नेतृत्व टिक्न सक्दैन’
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजलाई अमेरिकाको निर्देशन पालना नगरे पदच्युत नेता निकोलस मादुरोको जस्तै नियति भोग्नुपर्ने चेतावनी दिएका छन्। आइतबार एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भेनेजुएलाको भविष्य र त्यहाँको नेतृत्वप्रति कडा धारणा व्यक्त गरेका हुन्।
भेनेजुएलामा शासन परिवर्तन र राष्ट्र निर्माणका विषयमा आफ्नो विगतको अडानबारे उठेको प्रश्नको जवाफ दिँदै ट्रम्पले भेनेजुएला अमेरिकाको प्रभाव क्षेत्रभित्र पर्ने र यो ‘मनरो सिद्धान्त’ अन्तर्गत पर्ने बताएका छन्। उनले अमेरिकाको वरपरका देशहरू स्थिर, सुरक्षित र आर्थिक रूपमा सफल हुनु आवश्यक रहेको उल्लेख गर्दै ती देशहरूबाट तेलको आपूर्ति अवरोधविना हुनुपर्नेमा जोड दिए।
ट्रम्पले भेनेजुएलालाई ‘मृत देश’को संज्ञा दिँदै त्यसलाई पुनर्जीवित गर्ने जिम्मेवारी अमेरिकाको भएको दाबी गरे। उनका अनुसार भेनेजुएलाको तेल तथा अन्य पूर्वाधार पुनर्निर्माणका लागि अमेरिकी तेल कम्पनीहरूले ठूलो लगानी गर्नुपर्नेछ। यद्यपि, पछि उनले स्पष्ट पार्दै अमेरिकी सरकारले सिधै लगानी नगर्ने तर भेनेजुएला र त्यहाँका जनताको हित सुनिश्चित गर्न भूमिका खेल्ने बताएका छन्।
अन्तरिम राष्ट्रपति रोड्रिगेजको नेतृत्वका बारेमा सोधिएको प्रश्नमा ट्रम्पले आफ्नो प्रशासन उनको टोलीसँग सम्पर्कमा रहेको जानकारी दिए। तर, उनले रोड्रिगेजले अमेरिकाको कुरा मान्नुपर्ने शर्त राख्दै अन्यथा पदच्युत पूर्वराष्ट्रपति मादुरोको जस्तै अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।












