नेपाली बजारमा सुन चाँदीको मूल्यमा उल्लेख्य वृद्धि
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ६५ हजार रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय राजनीतिक तनाव, विशेषगरी अमेरिकाले भेनेजुयलामा गरेको आक्रमण र नियन्त्रणसँग सम्बन्धित घटनाक्रमका कारण विश्व बजारमा सुनको मूल्य तीव्र रूपमा बढेको बताइएको छ। त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि देखिएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा शनिबार र आइतबार कारोबार बन्द रहने भए पनि पछिल्लो कारोबार दिन सुनको मूल्य प्रतिऔंस ४ हजार ४ सय अमेरिकी डलर नाघेको छ । यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। सोमबार चाँदीको मूल्य तोलामा १८५ रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ६८५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।












