राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेस एमाले र नेकपाबीच तालमेल अन्तिम चरणमा
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच चुनावी तालमेल अन्तिम चरणमा पुगेको छ। जेनजी विद्रोहपछि सत्ता गुमाएका कांग्रेस र एमाले राष्ट्रियसभा निर्वाचनसँगै संसद् पुनर्स्थापना नभए फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा समेत सहकार्य गर्ने विषयमा निरन्तर छलफलमा रहेका छन्।
पछिल्लो समय यस चुनावी सहकार्यमा नेपाली कम्युनिष्ट पार्टी पनि सहभागी भएको स्रोतले जनाएको छ। स्रोतका अनुसार राष्ट्रियसभा र सम्भावित प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपालाई समेत समेटेर अघि बढ्ने विषयमा तीन दल लगभग सहमतिको नजिक पुगेका छन्। भागबन्डाको टुंगो लगाउन सोमबार साँझसम्म दोस्रो तहका नेताहरू सक्रिय रूपमा छलफलमा जुटेका छन्।
जस अनुसार राष्ट्रियसभा सदस्य निर्वाचनमा एमाले र नेकपाबीच तालमेल गर्ने विषयमा सहमति नजिक पुगेको छ भने तीन दलबिच संयुक्त तालमेलको सम्भावनाबारे कार्यवाहक सभापतिले निरन्तर संवाद गरिरहेका छन्।
यसैबीच, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली एकता समाज भारतले आयोजना गरेको एकता सभा कार्यक्रममा सहभागी हुन नयाँ दिल्लीमा छन्। भारत प्रस्थान गर्नुअघि प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग करिब आधा घण्टा छलफल गरेका थिए। उक्त भेटमा पछिल्लो राजनीतिक अवस्था तथा राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल र सहकार्यका विषयमा कुराकानी भएको बताइएको छ।
यद्यपि, नेकपाभित्रै एमालेसँगको सहकार्यप्रति असन्तुष्टि देखिएको छ। नेकपाका नेताहरुले वर्तमान अवस्थामा एमालेसँग चुनावी तालमेल वा एकता आत्मघाती हुने धारणा सार्वजनिक गरेका छन्। उनले पार्टीको देशव्यापी माहौल सुधारोन्मुख रहेको भन्दै यस्तो अवस्थामा सहकार्य उपयुक्त नहुने बताएका छन्।
उता, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र ऊर्जा मन्त्री तथा ‘उज्यालो नेपाल’का संरक्षक कुलमान घिसिङबीच देखिएको नजिकताले परम्परागत दलहरू थप दबाबमा परेका छन्को ।













