पाल्पाको तिनाउमा बाढी,खतराको तह पार

User Image Prime TV News २ हप्ता अगाडि
Image of पाल्पाको तिनाउमा बाढी,खतराको तह पार

पाल्पा । तीन दिनयताको अविरल वर्षाका कारण पाल्पाबाट बग्ने तिनाउ खोलामा आएको बाढीले पानीको सतह खतराको तह पार गरेको छ । मंगलबार रातिदेखि पाल्पा क्षेत्रमा भीषण वर्षा भइरहेकाले तिनाउ खोलामा पानीको सतह बढेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

झुम्सा, दोभान, तिनाउ खोलाले खतराको तह पार गरेपछि वरवरका बस्ति जोखिममा परेका छन् । पाल्पा जिल्लाका सबै स्थानमा पानी परिरहेको छ । बुधबार बिहानैदेखि तिनाउ खोलाले खतराको तह पार गरेको महाशाखाले जनाएको छ ।

रुपन्देहीस्थित बाढी मापन केन्द्रका अनुसार तिनाउ खोलामा बिहान पानीको सतह सात दशमलव ९ मिटर पुगेको छ । महाशाखाका अनुसार जल सतह ६ मिटरलाई सतर्कता तह मानिन्छ । ६ दशमलव १ मिटरलाई खतराको तह मानिन्छ ।

तिनाउ खोलाको जल सतह ७ दशमलव ९ मिटर पुगेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । तिनाउ खोलाले खतराको तह पार गरे पनि अहिलेसम्म मानवीय र भौतिक क्षति भने भएको छैन । तिनाउलगायत पाल्पाका निस्दी, अरुणखोला, दोभान, झुम्सा खोलामा पनि पानीको बहाव बढेकाले नदी किनारमा रहेका सर्वसाधारणलाई सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ ।