रुसी तेल कारोबारलाई लिएर भारतमाथि थप ट्यारिफको चेतावनी, ट्रम्प–मोदी सम्बन्धमा चिसोपन
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी तेलको कारोबारमा भारतले सहयोग नगरे भारतीय वस्तुमा थप ट्यारिफ लगाइने चेतावनी दिएका छन्। ट्रम्पले सोमबार सार्वजनिक रूपमा दिएको उक्त चेतावनीले भारत–अमेरिका सम्बन्धमा नयाँ तनाव उत्पन्न हुने संकेत देखिएको छ।
भारतको रुससँगको तेल व्यापारलाई लक्षित गर्दै ट्रम्पले अमेरिकी प्रशासन लामो समयदेखि यस विषयमा असन्तुष्ट रहेको बताएका छन्। उनले अगस्ट २०२५ मा भारतमाथि लगाइएको ५० प्रतिशत ट्यारिफ पनि यही कारणले गरिएको दाबी गरे।
प्रधानमन्त्री नरेन्द्र मोदीलाई उल्लेख गर्दै ट्रम्पले आफू यस विषयमा खुसी नभएको सन्देश भारतलाई पहिल्यै दिइसकेको बताए। “मोदीलाई म खुसी छैन भन्ने कुरा थाहा थियो। यदि भारतले रुसी तेलको व्यापार जारी राख्यो भने हामी छिट्टै ट्यारिफ बढाउन सक्छौँ,” ट्रम्पको भनाइ उद्धृत गर्दै ह्वाइट हाउसले अडियो सार्वजनिक गरेको छ।
रोयटर्सका अनुसार ट्रम्पले स्पष्ट शब्दमा भनेका छन्, “रुसी तेलको विषयमा भारतले सहयोग नगरे ट्यारिफ बढ्नेछ।” यी टिप्पणीहरू भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको गिरफ्तारीपछिको अमेरिकी रणनीतिबारे जानकारी दिने क्रममा आएका हुन्, जहाँ तेल राजनीतिका केन्द्रमा देखिएको छ।
ट्रम्पको पछिल्लो चेतावनी भारत–अमेरिका व्यापार वार्ता जारी रहेका बेला आएको हो। यसअघि ट्रम्पले मोदीले भारतले रुसबाट तेल खरिद बन्द गर्ने आश्वासन दिएको दाबी गरेका थिए। तर भारत सरकारले उक्त दाबी अस्वीकार गर्दै त्यस्तो कुनै सहमति नभएको स्पष्ट पारेको थियो।
भारतले आफ्नो ऊर्जा नीति अन्तर्राष्ट्रिय बजारको अवस्था र घरेलु उपभोक्ताको आवश्यकताअनुसार तय हुने बताउँदै आएको छ। हाल रुस भारतको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता रहँदै आएको छ ।













