सेयरबजारमा हरियाली, नेप्से २६३९ विन्दु पार
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । साताको पहिलो कारोबार दिन सेयरबजार मजबुत रूपमा उक्लिएको छ।
सोमबार नेपाल स्टक एक्सचेन्ज परिसूचक २८.७३ अंकले बढेर २६३९.३७ विन्दुमा पुगेको छ। कारोबार रकम पनि उत्साहजनक देखिएको छ। दिनभर ६ अर्ब ४७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ, जसमा १ करोड २४ लाख कित्ता सेयर कारोबार भएका छन्।
आजको कारोबारमा बजार व्यापक रूपमा बढेको देखिन्छ। कुल २१४ कम्पनीका सेयर मूल्य उकालो लागेका छन् भने ३७ कम्पनीका सेयर घटेका छन्। ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन भएन।
धेरै कम्पनीमा लगानीकर्ताको आकर्षण देखिँदा सागर डिस्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबलकार र रुरु जलविद्युत कम्पनीका सेयरमा सकारात्मक सर्किट लागेको छ। यी कम्पनीका सेयर मूल्यमा क्रमशः १८३.३० रुपैयाँ, ११२.१० रुपैयाँ, ९३.९० रुपैयाँ, ८१.७० रुपैयाँ र ६७ रुपैयाँको वृद्धि भएको छ।
बजार घट्ने सेयरमा पनि गिरावट सीमित रह्यो। घटेका सेयरमा अधिकतम २.४९ प्रतिशतसम्म मात्रै कमी आएको छ। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट सबैभन्दा अगाडि देखिएको छ। कम्पनीको ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसपछि बन्दीपुर केबलकार (२० करोड), एसवाई प्यानल (१७ करोड), श्रीनगर एग्रिटेक (१६ करोड) र सागर डिस्टिलरी (१५ करोड) उच्च कारोबार भएका कम्पनी हुन्।
उपसूचकतर्फ हेर्दा उत्पादन तथा प्रशोधन, विकास बैंक, तथा होटल तथा पर्यटन समूहमा करिब ३ प्रतिशतसम्मको वृद्धि देखिएको छ। अन्य सबै उपसूचक पनि हरियालीमै बन्द भएका छन् ।












