राष्ट्रियसभा निर्वाचनमा कांग्रेसको ८ सिट दाबी, दलहरूबीच सिट बाँडफाँट अझै अनिश्चित

User Image Prime TV News १ हप्ता अगाडि
Image of राष्ट्रियसभा निर्वाचनमा कांग्रेसको ८ सिट दाबी, दलहरूबीच सिट बाँडफाँट अझै अनिश्चित

काठमाडौ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि राजनीतिक दलहरूबीच तालमेलको प्रयास तीव्र बन्दै गएको छ। यसैबीच नेपाली कांग्रेसले गठबन्धनअन्तर्गत ८ सिटमा दाबी गरेको छ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अन्य दलसँग भएका छलफल, निर्वाचन तयारी र गठबन्धनको समग्र अवस्थाबारे जानकारी गराएका हुन्। बैठकमा कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा आफ्नो हिस्साको रूपमा ८ सिट माग गरेको कुरा राखिएको जनाइएको छ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस कार्यसम्पादन समिति सदस्य सुजाता कोइरालाले गठबन्धन भएर निर्वाचनमा जाने विषयमा सहमति रहेको जानकारी दिइन्। उनले भनिन्, “राष्ट्रियसभा निर्वाचनमा गठबन्धन हुने निश्चित छ। कांग्रेसले गठबन्धनको तर्फबाट ८ सिटमा दाबी गरेको जानकारी बैठकमा दिइएको छ।”

राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र जनता समाजवादी पार्टी नेपालबीच तालमेलका लागि निरन्तर छलफल भइरहेको छ। कांग्रेसका तर्फबाट कार्यवाहक सभापति खड्का र नेता रमेश लेखकले अन्य दलहरूसँग समन्वय गरिरहेका छन्।

यद्यपि, दलहरूबीच तालमेल गर्ने विषयमा सैद्धान्तिक सहमति जुटिसकेको भए पनि सिट बाँडफाँटको अन्तिम टुंगो अझै लाग्न बाँकी रहेको बताइएको छ। नेताहरूका अनुसार आगामी बैठक र छलफलबाट सिटको संख्या निश्चित गरिनेछ।