शीतल निवासमा विश्वकपको चमक, राष्ट्रपति पौडेलले गरे आईसीसी टी–२० ट्रफीको अनावरण

User Image Prime TV News १ हप्ता अगाडि
Image of शीतल निवासमा विश्वकपको चमक, राष्ट्रपति पौडेलले गरे आईसीसी टी–२० ट्रफीको अनावरण

काठमाडौ । आईसीसी टी–२० विश्वकप ट्रफी टुरअन्तर्गत नेपाल आइपुगेको ट्रफी सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा सार्वजनिक गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले ट्रफी अनावरण गर्दै यसलाई नेपाली क्रिकेटका लागि ऐतिहासिक उपलब्धि भएको बताएका छन्।

कार्यक्रममा पुरुष राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल, प्रशिक्षक स्टुआर्ट ल, महिला टोलीकी कप्तान इन्दु बर्मा, उपकप्तान पूजा महतो, प्रशिक्षक हर्षल पटेल तथा क्यान अध्यक्ष चतुरबहादुर चन्दको उपस्थिति रहेको थियो।

ट्रफी सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले विश्वकप ट्रफी नेपाल आइपुग्नुले देशको अन्तर्राष्ट्रिय खेल पहिचान थप सुदृढ भएको बताए। उनले नेपाल विश्व क्रिकेटको यात्रामा अघि बढिरहेको सन्देश विश्वभर पुगेको उल्लेख गरे।

राष्ट्रपति पौडेलले क्रिकेटले नेपाली समाजलाई एकतामा बाँध्ने माध्यम बनेको उल्लेख गर्दै खेलको व्यावसायिक विस्तारसँगै युवाहरूका लागि नयाँ सम्भावनाहरू खुलेको बताए। “खेलकुद क्षेत्रको संरचना र अवसर क्रमशः विस्तार हुँदै जानु सकारात्मक संकेत हो,” उनले भने।

उनले नेपालमा आयोजना हुन लागेको महिला टी–२० विश्वकप छनोट तथा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकपमा सहभागी हुने महिला र पुरुष राष्ट्रिय टोलीलाई सफलताको शुभकामना व्यक्त गरे।