दिल्लीमा प्रचण्डको दाबी: जेनजी आन्दोलनपछि ओलीकै प्रस्तावमा अन्तरिम सरकार बनेको हो
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी आन्दोलनपछिको राजनीतिक संक्रमणकालमा बनेको अन्तरिम सरकार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै सिफारिसमा गठन भएको दाबी दोहोर्याएका छन्।
भारतको दिल्लीमा आयोजित एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आन्दोलनपछिको सत्ता व्यवस्थापनमा भएको छलफलबारे आफ्नो भनाइ सार्वजनिक गरेका हुन्। उनी उक्त कार्यक्रममा सहभागी हुन आइतबार भारत पुगेका थिए।
प्रचण्डका अनुसार, आन्दोलन चर्किएको अवस्थामा २६ गते राति आफू र नेता माधवकुमार नेपाललाई राष्ट्रपति निवासमा बोलाइएको थियो। “देशमा व्याप्त अन्योल अन्त्य गर्न हामीले रातभर छलफल गर्यौं र अवस्था क्रमशः सामान्यतर्फ फर्काउने प्रयास गरियो,” उनले भने।
उनका अनुसार छलफलको निष्कर्षस्वरूप अन्तरिम सरकार गठन गर्ने सहमति बन्यो। “त्यतिबेला केपी ओली कामचलाउ प्रधानमन्त्री थिए। उनकै सिफारिसमा सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने समझदारी भयो,” प्रचण्डले दाबी गरे।
अन्तरिम सरकार गठनपछि भएको संसद् विघटनबारे प्रचण्डले त्यतिबेला पूर्ण सहमति नभएको स्पष्ट पारे। “संसद् विघटन गर्ने सहमति थिएन, तर परिस्थितिलाई मूल्यांकन गर्दै राष्ट्रपति कार्यालयबाट सुशीला कार्की नेतृत्वको सरकारको सिफारिसमा संसद् विघटन गरी चुनावको मिति घोषणा गरियो,” उनले भने।













