रास्वपा र नाउपा पूर्व पदाधिकारीबीच ९ बुँदे सहमति, नयाँ राजनीतिक शक्ति गठनको संकेत
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका पूर्व पदाधिकारी तथा थरुहट/थारुवान अभियन्ताबीच सोमबार राष्ट्रिय सभा गृहमा एकता समायोजन कार्यक्रम आयोजना गरी ९ बुँदे सहमति पत्र सार्वजनिक गरिएको छ।
सहमति पत्रमा भदौ २३ र २४ को जेनजी आन्दोलन र विभिन्न कालखण्डका जनआन्दोलनका शहीद र घाइतेहरूको बलिदानलाई प्रेरणास्रोत मानिएको उल्लेख छ। यसअन्तर्गत समान अठोट बोकेका शक्तिहरूले मिलेर राष्ट्र सेवाको साझा लक्ष्य हासिल गर्न र नयाँ राजनीतिक शक्ति गठन गर्न सहमति गरेको जनाइएको छ।
सहमति पत्रमा भनिएको छ कि सबै नेपालीको समतामूलक उन्नति, सामाजिक न्याय, र प्रतिस्पर्धात्मक उदार अर्थतन्त्रमा विश्वास राख्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गर्नु अपरिहार्य छ। यसरी सुसंस्कृत र परिवर्तनकामी शक्तिहरूले मिलेर नयाँ राजनीतिक शक्ति स्थापना गर्ने उद्देश्य राखिएको छ।
सहमति पत्रमा हस्ताक्षर गर्नेमा रास्वपाबाट उपसभापति डीपी अर्याल, थरुहट/थारुवान अभियन्ता लक्ष्मण थारु र सुरेन्द्र चौधरी, तथा नाउपाबाट वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित रहेका छन्। कार्यक्रम आयोजकहरूले यस सहमतिको उद्देश्यलाई देशमा समावेशी र सशक्त लोकतान्त्रिक शासन स्थापनामा योगदान पुर्याउने कदमका रूपमा व्याख्या गरेका छन्।













