राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले आज उम्मेद्वार र तालमेल टुंग्याइँदै
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि आफ्ना उम्मेदवारहरूको अन्तिम टुंगो आज लगाउने भएको छ।
यसका लागि बिहान ११ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ।
बैठकमा कांग्रेसका तर्फबाट राष्ट्रियसभा उम्मेदवार बन्ने नेताहरूको छनोट र अन्य राजनीतिक दलसँगको चुनावी तालमेलबारे ठोस निर्णय गरिनेछ। पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले सिट बाँडफाँटको विषयमा नेकपा एमाले, माओवादी केन्द्रलगायतका दलहरूसँग शीर्ष तहमा निरन्तर संवाद भइरहेको जानकारी दिएका छन्।
राष्ट्रियसभामा सबैभन्दा ठूलो मतभार भएको दलको हैसियतमा कांग्रेसले आफ्नो राजनीतिक प्रभावअनुसारको प्रतिनिधित्व सुनिश्चित गर्ने लक्ष्य लिएको छ। निर्वाचन जित्न सक्ने यथार्थपरक आधार बनाउने उद्देश्यले कांग्रेसले अन्य शक्तिसँग सहकार्यलाई प्राथमिकता दिएको छ।
आजको बैठकमा कुन दलसँग कति सिटमा तालमेल गर्ने र कांग्रेसबाट को–को उम्मेदवार मैदानमा उतार्ने भन्ने विषयमा औपचारिक निर्णय हुने बताइएको छ ।












