एमालेको सचिवालय बैठक आज च्यासलमा
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नजिकिँदै गरेको राष्ट्रियसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।
मंगलबार बिहान ९ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान गरिएको केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन्।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीको भूमिका, उम्मेदवार र चुनावी रणनीतिबारे छलफल गर्न बैठक बोलाइएको हो। विशेषगरी अन्य राजनीतिक दलसँग हुने तालमेल र सिट बाँडफाँटका विषय बैठकको मुख्य एजेन्डा रहनेछ।
एमालेले कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत दलहरूसँग चुनावी सहकार्यका लागि संवाद अघि बढाइसकेको छ। सीमित सिट र निर्णायक मतभारका कारण गठबन्धन बिना चुनाव जित्न कठिन हुने निष्कर्षमा एमाले नेतृत्व पुगेको देखिन्छ।
यसैबीच, एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावी सहकार्यका विषयमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एक्लाएक्लै छलफल गरेका थिए। उक्त भेटलाई राष्ट्रियसभा निर्वाचन केन्द्रित राजनीतिक चलखेलको महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ।
राष्ट्रियसभाका रिक्त १९ सिटमध्ये १८ सिटमा निर्वाचन हुँदैछ भने एक सदस्य राष्ट्रपतिबाट मनोनयन गरिनेछ। यही संरचनाका कारण दलहरूबीचको प्रतिस्पर्धा कडा बन्दै गएको छ।












