अमेरिकी आक्रमणले अन्तर्राष्ट्रिय कानुन मिच्यो : संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्
Prime TV News एक महिना अगाडि 
काठमाडौ । भेनेजुएलामा अमेरिकाले गरेको सैन्य आक्रमणप्रति संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले गम्भीर चिन्ता व्यक्त गरेको छ।
सोमबार बसेको आपत्कालीन बैठकमा सुरक्षा परिषद्का सदस्य राष्ट्रहरूले अमेरिकी कारबाहीले अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लंघन गरेको भन्दै कडा आलोचना गरेका छन्।
बैठकमा संयुक्त राष्ट्रसंघका उपमहासचिव रोजमेरी डिकार्लोले महासचिव एन्टोनियो गुटेरेसको विज्ञप्ति पढेर सुनाइन्। विज्ञप्तिमा गुटेरेसले भेनेजुएलामा गरिएको अमेरिकी सैन्य हस्तक्षेपले संयुक्त राष्ट्रसंघको चार्टर र अन्तर्राष्ट्रिय कानुनी मापदण्डलाई बेवास्ता गरेको स्पष्ट उल्लेख गरेका छन्।
डिकार्लोले अमेरिकी सैन्य कारबाहीले विश्व राजनीतिमा खतरनाक नजिर बसाल्न सक्ने चेतावनी दिँदै भनिन्, “भेनेजुएलाको अवस्था नाजुक छ, तर यदि समयमै कूटनीतिक पहल गरिएन भने यो संकट ठूलो द्वन्द्वमा रूपान्तरण हुन सक्छ।”
बैठकमा रुसले कडा प्रतिक्रिया जनाउँदै भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमती सिलिया फ्लोरेसको तत्काल रिहाइको माग गरेको छ। रुसले अमेरिकाको कदमलाई सार्वभौम राष्ट्रको स्वतन्त्रतामाथि गरिएको जबर्जस्त आक्रमणको संज्ञा दिएको छ।
अमेरिकी सेनाले शनिबार राजधानी काराकासमा सैन्य हमला गरी राष्ट्रपति मदुरो र उनकी श्रीमतीलाई नियन्त्रणमा लिँदै अमेरिका लगेको थियो। उनीहरूविरुद्ध लागुऔषध तस्करीको आरोपमा न्युयोर्कस्थित संघीय अदालतमा मुद्दा दायर गरिएको छ।
अदालतमा बयान दिँदै राष्ट्रपति मदुरोले आफू निर्दोष रहेको दाबी गरेका छन्। यता भेनेजुएलाभित्र अमेरिकी हस्तक्षेपविरुद्ध आक्रोश चुलिँदै गएको छ भने अन्तर्राष्ट्रिय समुदायमा अमेरिकाको भूमिकामाथि प्रश्न उठ्न थालेका छन्।













