बंगलादेशमा हिन्दु अल्पसंख्यक असुरक्षित : महिलामाथि सामूहिक बलात्कार, १८ दिनमा चार हत्या
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । बंगलादेशमा धार्मिक अल्पसंख्यकको सुरक्षास्थिति भयावह बन्दै गएको छ।
झेनाइदाह जिल्लामा हिन्दु समुदायकी ४४ वर्षीया एकल महिलामाथि सामूहिक बलात्कार र अमानवीय कुटपिट भएको घटनाले देशभर आक्रोश फैलिएको छ।
घटना कालीगन्ज क्षेत्रको एक गाउँमा भएको हो। स्थानीय सञ्चारमाध्यमका अनुसार आरोपितहरूले महिलामाथि बलात्कार गरेपछि उनलाई रुखमा बाँधेर कुटपिट गरेका थिए। घटनाका बेला महिलाको कपाल काटिएको र सम्पूर्ण घटनाक्रम मोबाइल फोनमा रेकर्ड गरिएको बताइएको छ।
पीडितले सोमबार कालीगन्ज प्रहरी कार्यालयमा चार जनाविरुद्ध जाहेरी दिएकी छन्। प्रहरीका अनुसार ४५ वर्षीय हसन नामका एक व्यक्तिलाई पक्राउ गरिएको छ भने अन्य आरोपित फरार छन्।
प्रहरी अनुसन्धानअनुसार महिलाले करिब दुई वर्षअघि सो गाउँमा घर तथा जग्गा किनेकी थिइन्। जग्गा खरिद गरेपछि एक आरोपित साहिनले उनीमाथि निरन्तर दबाब दिने र पैसा माग्ने गरेको खुलासा भएको छ।
शनिबार साँझ महिलाका दुई पुरुष आफन्त भेट्न आएका बेला साहिन र हसन जबरजस्ती घरभित्र पसेका थिए। आरोपितहरूले आफन्तहरूलाई एउटा कोठामा थुनेर महिलालाई अर्को कोठामा लगी बलात्कार गरेका थिए।
त्यसपछि महिला र उनका आफन्तलाई घरबाट बाहिर निकालेर रुखमा बाँधिएको र झुटा आरोप लगाउँदै कुटपिट गरिएको थियो। महिला आफ्ना १० वर्षीय छोरासँग बस्दै आएकी थिइन्।
स्थानीयले उनलाई गम्भीर अवस्थामा फेला पारेर अस्पताल पुर्याएका थिए। उपचारका कारण उजुरी दर्ता ढिला भएको प्रहरीले जनाएको छ।
१८ दिनमा चार हिन्दुको हत्या
यसैबीच, बंगलादेशमा पछिल्लो १८ दिनभित्र चार जना हिन्दु समुदायका व्यक्तिको हत्या भएको छ। सोमबार साँझ जेसोर जिल्लाको मोनिरामपुर क्षेत्रमा ३८ वर्षीय हिन्दु व्यापारी राणा प्रताप वैरागीको गोली हानी हत्या गरिएको छ।
प्रहरीका अनुसार मोटरसाइकलमा आएका आक्रमणकारीहरूले उनलाई कार्यस्थलबाट बाहिर निकालेर नजिकैको गल्लीमा गोली प्रहार गरेका थिए, जसका कारण घटनास्थलमै उनको मृत्यु भयो। आक्रमणकारीहरू फरार छन्।
यसअघि डिसेम्बर १८, २४ र २९ तारिखमा पनि तीन हिन्दु नागरिकको हत्या भइसकेको छ। लगातार भइरहेका यस्ता घटनाले बंगलादेशमा धार्मिक अल्पसंख्यकको जीवन असुरक्षित बन्दै गएको छ।












