काठमाडौं कठ्याङ्ग्रिँदै : यस वर्षकै सबैभन्दा कम तापक्रम मापन

User Image Prime TV News १ हप्ता अगाडि
Image of काठमाडौं कठ्याङ्ग्रिँदै : यस वर्षकै सबैभन्दा कम तापक्रम मापन

काठमाडौ । देशभर जाडो वढ्दै गएको छ। विशेषगरी काठमाडौं उपत्यकामा चिसो अस्वाभाविक रूपमा बढ्दै जाँदा सर्वसाधारणको दैनिकी प्रभावित हुन थालेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंमा यस वर्ष हालसम्मकै सबैभन्दा कम न्यूनतम तापक्रम मापन भएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार मंगलबार बिहान ५ बजेर ४५ मिनेटमा काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस पुगेको छ। पछिल्ला केही दिनदेखि उपत्यकामा तापक्रम लगातार ओरालो लागिरहेको छ।

आँकडाअनुसार शनिबार ४.७ डिग्री, आइतबार ४ डिग्री, सोमबार ३.५ डिग्री र आज ३.४ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको हो।

यद्यपि, मौसमविदका अनुसार यो तापक्रम दीर्घकालीन औसतभन्दा अझै केही माथि नै छ। जनवरी ६ को काठमाडौंको औसत न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस रहेको विभागको तथ्यांक छ।

अधिकतम तापक्रममा भने खासै ठूलो परिवर्तन देखिएको छैन। तराई क्षेत्रमा हिजो घाम लागेका कारण दिनको तापक्रम केही बढेको मौसमविदहरूले बताएका छन्।

तराई मधेशका जिल्लामा बिहानपख हुस्सु र कुहिरो बाक्लो रूपमा जमिरहेकाले यातायात र जनजीवन प्रभावित भएको छ। चिसोका कारण शीत चुहिने अवस्था भए पनि मौसम विज्ञान विभागले हाललाई यसलाई औपचारिक रूपमा ‘शीतलहर’ भन्न मिल्ने अवस्था नरहेको स्पष्ट पारेको छ।

तीन दिनसम्म वर्षा छैन

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म देशभर उल्लेखनीय वर्षाको कुनै सम्भावना छैन। अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहनेछ भने पहाडी र हिमाली क्षेत्रका केही स्थानमा आंशिक बदली देखिन सक्छ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ। तर ठूलो वर्षा गराउने कुनै मौसमी प्रणाली तत्काल सक्रिय हुने संकेत छैन।